प्रचण्डको नेतृत्वमा नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता

प्रचण्डको नेतृत्वमा नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता

काठमाडौं : नेपाल र भारतबीच आज द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच आज (बिहीबार) द्विपक्षीय वार्ता भएको हो।

नयाँदिल्लीको हैदरावाद हाउसमा भएको वार्तामा ऊर्जा, व्यापार, वाणिज्य, अर्थतन्त्र,  पूर्वाधार लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।  यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यसूची रहेको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता भएको थियो। 

आजै (बिहीबार) प्रचण्डले भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार चढाएका थिए। मोदीकै निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि प्रचण्ड हिजो भारत पुगेका थिए।

प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्। कार्यसूची अनुसार उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग ४:३० बजे भेटघाट हुने बताइएको छ।

जेठ १८, २०८० बिहीबार १३:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।