दक्षिण अफ्रिका नेपालको अभ्यास खेल स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग
काठमाडौं : नेपालले एकदिवसीय विश्वकप छनोट अघि स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ।
जिम्बावेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टिमले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
क्यानले आज (बिहीबार) सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा आजदेखि एक साता प्रशिक्षण गर्नेछ। यसपछि यी दुई अभ्यास खेल खेल्नेछ।
बुधबार (हिजो) दक्षिण अफ्रिका पुगेको नेपाली टिमले जुन ८ मा स्कटल्याण्ड र जुन १० मा नेदरल्याण्ड्ससँग ५० ओभरको अभ्यास खेल खेल्नेछ।
यसपछि नेपाली टिम विश्वकप छनोट खेल्न जिम्बावे जानेछ। नेपालले विश्वकप छनोटअघि जिम्बावे पनि यूएई र ओमानसँग दुई आधिकारिक अभ्यास खेल खेल्नेछ ।
जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमध्येबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकपमा प्रवेश पाउने छन्।
नेपालले समूह चरणमा आयोजक जिम्बावेसँगै, वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग भिडन्त गर्नेछ। अर्को समूहमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान रहेका छन्।
पहिलो चरणको खेलबाट दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समाबाट शीर्ष दुई फाइनलसँगै विश्वकपका लागि छनोट हुनेछन्।
जेठ १८, २०८० बिहीबार ११:२६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।