अत्यधिक गर्मीका कारण झापाका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण झापाका विद्यालय बन्द

झापा : झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।

दुवै स्थानीय निकायले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन्। झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ।
 
यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए।

जेठ १८, २०८० बिहीबार ०९:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।