प्रचण्ड र मोदीबीच आज भेटवार्ता, भारतीय राष्ट्रपति मुर्मूलाई पनि आजै भेट्ने

प्रचण्ड र मोदीबीच आज भेटवार्ता, भारतीय राष्ट्रपति मुर्मूलाई पनि आजै भेट्ने
फाइल फोटो

काठमाडौं : औपचारिक भ्रमणका लागि भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

मोदीकै निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि दाहाल हिजो (बुधबार) भारत पुगेका हुन्।

कार्यतालिका अनुसार आज बिहान ११ बजे प्रचण्ड र मोदीबीच भेटवार्ता हुनेछ। हैदरावाद हाउसमा हुने भेटवार्ता आधा घण्टाको हुने बताइएको छ।

यो भेटवार्ता पछि प्रचण्ड र मोदी सहितको प्रतिनिधिमण्डल स्तरको बैठक हुनेछ र यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यसूची रहेको छ।

 प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्। कार्यसूची अनुसार उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग ४:३० बजे भेटघाट हुने बताइएको छ।

भ्रमणका पहिलो दिन नै प्रचण्डले भारतका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए। दाहाललाई भेट्न क्वात्रा र डोभाल नयाँ दिल्ली स्थित मौर्य होटलमा पुगेका थिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

जेठ १८, २०८० बिहीबार ०८:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।