सेभियालाई युरोपा लिगको उपाधि, खेलेका सातवटै फाइनल जित्दै रच्यो इतिहास

सेभियालाई युरोपा लिगको उपाधि, खेलेका सातवटै फाइनल जित्दै रच्यो इतिहास

एजेन्सी : स्पेनिस क्लब सेभियाले सातौं पटक युरोपा लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ। 

इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले आफ्नो युरोपा लिगको उपाधिलाई सर्वाधिक सातमा पुर्याएको हो।

सेभियाले युरोपा लिगमा हालसम्म खेलेका सबै सात वटै फाइनल जितेर अर्को रेकर्ड पनि बनायो।

गए राति भएको फाइनल खेलको ३५ औं मिनेटमा डिबालाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। तर ५५ औं मिनेटमा रोमाकै मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो। 

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। तर अतिरिक्त समयमा थप गोल नभएपछि खेल टाइब्रेकरमा पुग्दा सेभिया विजयी भयो।

टाइब्रेकरमा सेभियाका राकिटिच, एरिक लमेला, ओकम्पास र गोन्जालो मोन्टिएलले गोल गर्दा रोमाका लागि ब्रायन क्रिस्टान्टेले मात्रै गोल गरेका थिए।

जेठ १८, २०८० बिहीबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।