सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार

सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार

विराटनगरः सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ। 

आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रमुख कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेको विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए। 

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ। 'सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,' मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ। 

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा निषेध गरेको थियो।

जेठ १७, २०८० बुधबार २१:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।