‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गर्दा किन रोए विजय लामा र दिया?

‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गर्दा किन रोए विजय लामा र दिया?

काठमाडौं : आफू अभिनीत फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका अभिनेता विजय लामा र अभिनेत्री दिया पुन दुवै जना रोए।

बुधबार काठमाडौंको छायाँ सेन्टरमा रहेको हलमा ‘अन्तिम संस्कार’को ट्रेलर पत्रकारलाई देखाउने कार्यक्रममा दुवै कलाकारले आँसु थाम्न सकेनन्।

यस फिल्ममा अभिनय गरेका विजयलाई पत्रकारले तपाईंको बुबाले खेल भनेको यो फिल्म अन्तिम हो रे नि भन्ने प्रश्नको जवाफ दिंदै गर्दा उनी भक्कानिए। 

हस्पिटलमा जीवनसँग अन्तिम लडाइ लडिरहेका बुबालाई विजयले म यो फिल्म खेलौं? भनेर सोध्दा खेल भनेको अन्तिम क्षणलाई सम्झिएर उनी भावुक भएका हुन्।

भावुक हुँदै उनले भने, ‘त्यो समयमा मेरो बुबा जीवन-मरणको अन्तिम अवस्थामा हुनुहुन्थ्यो। मुटुको समस्या झनै भएपछि आइसीयूबाट सीसीयूमा सारिएको अवस्थामा मलाई निर्माता क्षितिजले बारम्बार कल गरेर भेट्न खोज्नुभयो। मैले नभेट्ने भन्दै गर्दा बुबालाई सोधें। बुबाले चलचित्रको कथा सुन् भन्नुभयो।’

‘मलाई कथा मन पर्यो। यसपछि बुबालाई के गरौं? भनेर सोधें। बुबाले खेल भन्नुभयो। त्यसको तीन दिनपछि मेरो बुबा बित्नुभयो,’ उनले थपे। विजय लामाका बुबा नेपालको फिल्म निर्माता तथा निर्देशक समेत हुन्। 

यो फिल्मसँगको नामसँग अभिनेत्री दिया पुनको पनि छुट्टै कथा रहेछ। विजय लामाले दियाकी हजुरआमाले आफूलाई भेट्न चाहेको र भेटेको कुरा गर्दा दिया निकै भावुक बनिन्।

यो फिल्ममा काम गर्ने फाइनल भइरहेको समयमा दियाको यूके जाने समयमा हजुरआमाले विजयलाई भेट्न चाहेको र भेट गरेको कुरा सुनाउँदा छेवैमा रहेकी दिया पनि भक्कानिन्। उनको आँखामा आँसु परैबाट टिलपिल देखिन्थ्यो।

किनभने यो नै उनीहरुको अन्तिम भेट रहेछ। दियाकी हजुरआमा यूके पुगेको तीन दिनमा नै बित्नु भएको रहेछ। फिल्मको ट्रेलर हेर्न गएका अधिकांश यो कुरा सुनेर भावुक बने।

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’मा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतका कलाकारको अभिनय रहेको छ।  

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्ममा सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको छ। ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भएको थियो। 

१७ जेठ, २०८०, २०:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।