‘सम्मानित नेता’को अपमान भएपछि एकीकृत समाजवादीको आपत्ति

‘सम्मानित नेता’को अपमान भएपछि एकीकृत समाजवादीको आपत्ति

काठमाडौं : एकीकृत समाजवादीले पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालमाथि दुर्व्यवहार भएकोमा आपत्ति जनाएको छ।

विज्ञप्ति निकालेर पार्टीले पुनरुत्थानवादीहरूका मतियारहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो–हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने तथा अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेकोमा घोर भर्त्सनासमेत गरेको छ।

उपमहासचिव डा. गंगालाल तुलाधारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार आयोजित एक कार्यक्रममा झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो–हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्रो पार्टी घोर भत्सना गर्दछ।’

घटनामा संलग्न रहेकारूलाई कारबाहीको लागिसमेत पार्टीले सरकारसँग माग गरेको छ।

खनालमाथि मंगलबार भारतले नेपालका भू–भाग समेटेर बनाएको नक्साको विरोध गर्न तथा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सन्तोष ‘राजावादी’ नामक युवकले राजनीतिक दलहरूलाई निशाना बनाउँदै झलनाथविरुद्ध आगो ओकले।

उनले भनेका थिए, ‘राजाको जुत्ताको तलुवा पुछ्ने हैसियत नभएको झलनाथ खनालले राजाको विरोध गरिराखेको छ। हाम्रो आस्थामा प्रहार गर्ने अधिकार उसलाई कसले दियो? म प्रचण्ड सरकारलाई भन्न चाहन्छु, यस्ता व्यक्तिलाई छाडा नछोड्नु होला।’

उनीसहित अन्यले ‘सर्प चोर देश छोड’ को नारासमेत लगाएका  थिए।

जेठ १७, २०८० बुधबार १४:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।