समुन्द्रमा खस्यो उत्तर कोरियाको स्याटेलाइट, आतङ्कित बन्यो दक्षिण कोरिया

समुन्द्रमा खस्यो उत्तर कोरियाको स्याटेलाइट, आतङ्कित बन्यो दक्षिण कोरिया

एजेन्सी : उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गरेको पहिलो स्याटेलाइट समुन्द्रमा खसेको छ।

अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न प्रक्षेपण गरिएको स्याटेलाइट प्रक्षेपण असफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

प्रयास असफल भएपछि उत्तर कोरियाले छिट्टै अर्को स्याटेलाइट प्रक्षेपण गर्ने प्रयास गर्ने बताएको छ।

रकेट प्रक्षेपणको कारण, जापानले ओकिनावा टापुका बासिन्दाहरूलाई चेतावनी जारी गर्नुपरेको थियो। तर, जापानले पछि भने आफ्नो भूभागमा कुनै क्षति हुने खतरा नरहेको बताएको थियो।

यसै क्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेकोजस्तो देखिएको बताएका छन्। उनले जापान सरकारले यसको विषयमा तथ्यांक विश्लेषण गरिरहेको बताए।

अर्कोतर्फ, दक्षिण कोरियाको राजधानी सियोलमा बुधबार बिहानै आतंकको वातावरण बनेको थियो। यहाँ हवाई आक्रमणको चेतावनी दिन साइरन बजाइएको थियो भने सर्वसाधारणलाई आपतकालीन चेतावनी सन्देशहरूसमेत पठाइएको थियो।

यद्यपि २० मिनेटपछि पुन: अर्को आपतकालीन सन्देश पठाएर पहिलो सन्देश गल्तीले पठाएको बताएको थियो। उत्तर कोरिया र दक्षिण कोरियाबीच ७० वर्षदेखि तनाव जारी रहेको कोरियाली प्रायद्वीपमा यस्ता गलत सन्देशले जनविश्वासमा कमी आउनसक्ने देखिन्छ।

बुधबार उत्तर कोरियाको स्याटेलाइट प्रक्षेपण प्रयासअघि अमेरिकाले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको उल्लंघन हुने बताएको थियो।

जेठ १७, २०८० बुधबार १०:४१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।