सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा मेयरका छोरा पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा मेयरका छोरा पक्राउ

काठमाडौं : सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीका छोरा निरोजलाई पक्राउ गरेको छ।

प्रमोद सिटौलासहित चार जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई मंगलबार सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

निरोजले चार जना व्यक्तिलाई प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै सर्बिया पुगेपछि कृषि क्षेत्रमा काम लगाइदिने र मासिक कमाइ १ लाख रुपैयाँभन्दा बढि हुने भनेर पीडितलाई प्रलोभनमा पारेका थिए।

सर्लाहीको हरिवन–५ मा घर भएका बुढाथोकी हाल काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेमा बस्दै आएका थिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि बबरमहलस्थित वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

जेठ १७, २०८० बुधबार ०९:२५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।