भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल, ४७ जनाको खर्च सरकारले बेहाेर्ने

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल, ४७ जनाको खर्च सरकारले बेहाेर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा जाँदैछन्।

बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट दाहाल नेतृत्वको जम्बो टाेली नयाँदिल्ली जानेछ।

​तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले भारतबाट विदेश भ्रमण सुरू गरेका हुन्।

भ्रमण टाेलीमा पाँच मन्त्रीसहित १८ सचिव, सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढीको सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले बताए।

विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्‌को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उनको भनाइ छ।

प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उनी बताउँछन्।

सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरू निजी खर्चमा जानेछन्।

बुधबार दाहाललाई भारतका विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेट्ने कार्यक्रम छ। 

यस्तै बिहीबार प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ।

त्यहाँ नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास आयोजनाबारे ऊर्जा मन्त्रालयले सम्झौता गर्दैछ।

कञ्चनपुर र दार्चुला जिल्लाको महाकाली नदीमा चाँदनी दोधारा र झुलाघाट क्षेत्रमा पुलहरू निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयले सम्झौता गर्दैछ।  यस्तै, पेट्रोलियम पाइपलाइनसम्बन्धित विषयमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्झौता गर्दैछ। 

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। 

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन्। दाहालले मध्यप्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन्। त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्।

दाहालले इन्दोरमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतको हिन्दुबादी संगठन आरएसएसका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको छ।  प्रधानमन्त्री प्रचण्डको टोली जेठ २० गते स्वदेश फर्किँनेछ।

जेठ १७, २०८० बुधबार ०६:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।