कस्तो विकृत यौनले भरिएको सोचाइ होला छ्या !

कस्तो विकृत यौनले भरिएको सोचाइ होला छ्या !

रेडियोको बन्द कोठाबाट सुरु गरेको पत्रकारिताबाट जब  टेलिभिजनको दुनियाँमा पुगेँ, तब मेरा लागि चुनौती अनि अवसर दुवै आए। म जिल्लामा बसेर टेलिभिजनमा काम गर्ने महिला पत्रकार। काम गर्दै सिक्नुपर्ने।

टीभीमा काम गर्ने पुरुष पत्रकारहरूसँग कसरी घुलमिल हुने, फिल्डमा जाँदा १/२ दिन नै बस्नुपर्दा त्यो बीचमा कसरी सामना गर्ने? निक्कै कठिन लाग्ने चुनौतीहरू थुप्रिए।

जिल्लाका अधिकांश ठाउँबारे बुझ्न, जान्न अनि जिल्लाका हरेक पक्षमा रिपोर्टिङ गर्न पाउनु मेरा लागि अवसर थियो।

पारिश्रमिकदेखि कामको कुरामा पनि महिला र पुरुषबीच विभेद अझै गहिरिँदै गएको छ। घरको सीमित दायराभित्र रहेर काम गरिरहेका हामी महिला पत्रकारलाई बाहिरी संसारमा व्यावसायिक रूपमा पत्रकारिता गर्नु  चुनौतीपूर्ण हुने नै भयो।

बिर्सन नसकेको २ घटना
रेडियोमा काम गरेको सायद ४ वर्ष भएको थियो। म रेडियोमा राति १० बजेसम्म बस्थेँ। रेडियोबाट कोठा जान १५ मिनेट लाग्थ्यो। राति म एक्कै जान्थेँ। यो मेरो दैनिकी थियो।

एक दिन सधैँ झैँ रेडियो बन्द गरेर म कोठातर्फ जाँदै थिए। बाटोमा मातेर हल्लाखल्ला गरेका ४/५जना केटाहरू भेटेँ। डरले मेरा खुट्टा कामिरहेका थिए।

के गरौँ-गरौँ भयो, केटाहरू म भएतिर आएर हातपात गर्न खोजे। म भाग्न लागेको थाहा पाएपछि घेर्न थाले। मेरो शरीरको संवेदनशील अंगहरूमा हात हाल्न थाले।

कसो-कसो उम्किएर कोठासम्म पुगेँ। कसरी पुगेँ भनि सम्झिँदा मेरो शरीर अहिले पनि काम्छ।

कोठामा त गएँ, तर त्यो रात निदाउन सकिनँ। रोएँ। तर कसैलाई भन्न सकिनँ।

भोलिपल्टदेखि रेडियोमा जान मन लागेन, कसैलाई सुनाउन सक्ने आँट पनि आएन। सुनाए पनि तैँ उस्तो भन्ने पो हो कि भन्ने डर लाग्यो।

न खान मन लाग्यो, न त काममा केही हात नै लाग्थ्यो। सदरमुकाम बस्न सकिन। गाउँ गएर १० दिन बिताएँ।

रेडियोमा लामो छुट्टी नमिल्ने। बिरामी भएर उपचार गर्ने भनेर बिदा मिलाएँ। गाउँमा आमालाई त्यो पीडा सुनाउन त सकिनँ, तर आमाको काख पाउँदा पीडा केही कम भयो।

गाउँबाट आएपछि रेडियो नजिकै कोठा लिएँँ अनि आफ्नो काम बढाएँ। अहिले भएको भए म चुप बस्दिनँ थिएँ। तर त्यो बेला हिम्मतै आएन।

अर्को घटना
जिल्लामा क्रियाशील महिला पत्रकारहरू औँलामा गन्न सकिने छन्। म टेलिभिजनमा जिल्लाबाट काम गर्न थालेपछिका सुरुका दिनमा त धेरै नसोचेका घटनाहरू भोग्नुपर्यो।

एक दिन तालिम सकेर शहरबाट रामेछाप फर्कने क्रममा थिएँ। ४ बजिसकेको थियो। गाडी थिएन। रामेछाप जाने सबै गाडी गइसकेका थिए।

जसरी पनि रामेछाप पुग्नु थियो। त्यहीबेला जिल्लाकै वरिष्ठ पत्रकार पनि रामेछाप जाने थाहा पाएँ। बाइकमा लिफ्ट मागेँ।

भकुन्डेबेसी कटेपछि मेरो तिघ्रामा एक्कासी त्यो मान्छेले हात राख्यो। अप्ठ्यारो लाग्यो। मैले केही भनिनँ।

४ घण्टाको यात्रामा करिब डेढ घण्टा कट्यो, अझै साढे २ घण्टा बाँकी नै थियो। कहिले पुग्ने होला? मनमा कुरा खेल्न थाल्यो।

पहिला त झुक्किएर होला भन्ने पनि नलागेको हैन। तर खुर्कोटसम्म आइपुग्दा ५-७ पटकसम्मै त्यस्तै गरे। बाइक चलाउदा हात दुख्यो भन्दै तिघ्रामा हात ल्याउँथे।

खुर्कोट आइपुग्दा ८ बजिसकेको थियो। रातको यात्रा। अब खुर्कोटबाट मन्थलीसम्मको यात्रा कस्तो होला!

खुर्कोटबाट करिब ७ किलोमिटरजति मन्थलीतर्फ अघि बढेपछि बाइक रोकियो। तिमी कति मिजासिली भन्दै ती वरिष्ठ भनिने पत्रकारले मेरो शरीरमा हात लग्यो।

‘अभिभावक सोचेको थिएँ तर नरपिचास नै पो हुनुहुँदो रहेछ। म मौन बसेँ भनेर यसलाई जे गर्दा नि हुन्छ भन्ने सोचेको होला होइन? तपाईंको हर्कत हेर्न थाहा भयो छ्या’. भने।

एकदमै रुन मन लाग्यो। त्यसको बाइकमा नजाने सोचेँ। सरी गल्ती भयो भन्दै माफी मागिरहेको थियो। मसँग अर्को  विकल्प थिएन। डरले होला हतार-हतार बाइक चलाउन थाल्यो। सरी है गल्ती भयो भनिरहेको थियो।

मन्थली झरेपछि रुम पुग्ने बित्तिकै ढोकाको चुकुल लगाएर धित मरुन्जेल रोएँ। मलाई उकुसमुकुस भइरहेको थियो। खप्न नसकेर मिल्ने आन्टीलाई यी सबै सुनाएँ। सँगै काम गर्ने साथीलाई पनि सुनाएँ।

भोलिपल्ट बिहान अफिस गएँ। केही काम गर्न मन लागेन। यो पेसा नै छोडेर जाऊँजस्तो लाग्यो। अब पत्रकारिता नै छोड्दिन्छु अनि अरू नै काम गर्छु भन्ने लाग्यो।

एक मनले भन्यो- सामना गर। अर्को मन भन्छ- यो पेसा नै छोड्।

दिउँसो बजारमा भएको कार्यक्रममा गएँ। जसले मलाई दुर्व्यवहार गरेको थियो त्यो पनि भेटियो। सीधा आँखाले हेर्न पनि सकिनँ।​​​​ ​​गल्ती त्यो गर्छ, तर सजाय मैले भोगेको जस्तो महसुस भयो।

त्यसपछि पत्रकारितामा मलाई सहयोग गर्ने एकजना दाइलाई त्यो घटना सुनाएँ, एक कान दुई कान हुँदै त्यो कुरा फैलियो।

तर उल्टै ‘तेरै दोष’ भन्दै मानसिक रूपमा टर्चर पो आउन थाल्यो। मर्छु कि जस्तो लागिरहेको थियो। जिल्लाका वरिष्ठ पत्रकारहरू मलाई फकाउन थाले- ‘होइन भन्दे, चुप बस' भनेर।

केही ‘छोएको त रैछ नि, केही गरेको रैनछ त’ भन्दै मलाई अझै कमजोर बनाउन लागिरहे।

यस्तो टर्चर करिब १ महिनाजति सहनुपर्यो। घरमा भन्ने आँट आएन। किन बाबुआमालाई तनाव दिनु भन्ने लाग्यो। त्यतिबेला मैले केही काम नै गर्न सकिनँ।

मलाइ दुर्व्यवहार गर्नेले मसँग कुरा गर्ने अनि माफी माग्ने भनेर बारम्बार कल गर्न थाल्यो। अनि अरूलाई पनि लगायो।

चुप बसौँ कि खरो रूपमा उत्रिऊँ, दोधारमा थिएँ। चुप बसौँ यसले अरूलाई पनि यस्तै गर्ला झैँ लाग्यो, बोलौँ मलाई समाजको डर लाग्यो।

यसबीचमा एक परिचित महिला पत्रकारलाई यो कुरा सुनाएँ। दिदीले ‘पत्रकार महासंघ केन्द्रमा यस्तो मुद्दा धेरै परेको छ रे तिमी पनि निवेदन लेखेर देऊ’ भन्नुभयो।

के गर्ने/नगर्ने म दोधारमा परेँ। जिल्लामा टिक्नुु थियो। माफी दिएँ।

टेलिभिजन पत्रकार फिल्डमा जानैपर्छ।​​​ ​​​फिल्डमा काम गर्दा गलत नजरले हेर्ने, नकारात्मक व्यवहार अनि पटक-पटक यौन प्रस्तावको सामना गरेको छु। दिक्कै बनाउँछन्।

पहिला त अलि डर लाग्थ्यो। तर अहिले जस्तालाई त्यस्तै व्यवहार गर्न थालेको छु। काममा क्रियाशील छु। परिस्थितिको डटेर सामना गर्न जानेको छु। तै पनि सोचाइ अनि व्यवहार देखेर दिक्क लाग्छ।

महिला देख्यो कि झम्टिने कस्तो विकृत यौनले भरिएको सोचाई होला छ्या!

१७ जेठ, २०८०, ११:११:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।