विराटनगरबाट पक्राउ परेका २७ जना पहिचान पक्षधरहरू रिहा

विराटनगरबाट पक्राउ परेका २७ जना पहिचान पक्षधरहरू रिहा

विराटनगरः कोशी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएका पहिचान पक्षधरहरू रिहा भएका छन्। 

पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै आन्दोलनरत नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अशोक चेम्जोङ लिम्बूलगायत २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू मंगलबार साँझ रिहा भएका हुन्। 

उनीहरू जेठ १४ गते विराटनगर चोकमा प्रदर्शनमा उत्रिएका बेला पक्राउ परेका थिए। 

रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरूङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम छन्। 

कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

यसअघि कोशी प्रदेश सरकारले प्रदेश नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको थियो। 

प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन्।

वक्तव्यमा नामकरणबारे रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गरेका छन्। 

नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९२ (२) अनुसार  कोशी  नामकरण रहन पुगेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा मन्त्री सिटौलाले नागरिक चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यको समर्थनमा प्रदेशको नामकरण भएको बताएका छन्। 

यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए। 

जेठ १६, २०८० मंगलबार २१:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।