ताप तौलका वरिष्ठ निरीक्षकको आम्दानीभन्दा साढे चार करोड सम्पत्ति बढी, विशेषमा मुद्दा दायर

ताप तौलका वरिष्ठ निरीक्षकको आम्दानीभन्दा साढे चार करोड सम्पत्ति बढी, विशेषमा मुद्दा दायर

काठमाडौँ : गुणस्तर तथा नापतौल कार्यालय, वीरगन्जका वरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवको चार करोड ४७ लाख रुपैयाँको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार सरकारी सेवामा प्रवेश गरेपछिको उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार देखिएको छ। तर उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार देखिएपछि मुद्दा दायर भएको हो।

उनको आम्दानीमा देखिएको ४ करोड ४७ लाख ३४ हजार रुपैयाँको स्रोत नदेखिएको भन्दै सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेको दाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको हो।

२०४६ जेठ ८ मा सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जानकारी दिएको छ।

यादवले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रिता रानी, छोराहरू विकास यादव र अविनाश यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैङ्क मौज्दात राखेको पाइएको अख्तियारको दाबी छ।

अख्तियारले ती सबै घरजग्गा र बैङ्क मौज्दातबाट बिगो जफत गर्न माग गर्दै विशेष अदालतमा मङ्गलवार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जेठ १६, २०८० मंगलबार १८:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।