कांग्रेस नेतृ तथा पूर्वसांसद मीना पाण्डेको निधन

कांग्रेस नेतृ तथा पूर्वसांसद मीना पाण्डेको निधन

काठमाडौंः पूर्वराज्यमन्त्री मीना पाण्डेको निधन भएको छ। 

नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमिति पूर्वसदस्य तथा महिला, बालबालिका तथा समाज कल्याण पूर्वराज्यमन्त्रीसमेत रहेकी पाण्डेको मंगलबार गौशालास्थित आफ्नै निवासमा निधन भएको हो। 

८ सालमा जन्मिएकी पाण्डे संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्। जनमत संग्रहका बेला २०३५ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी हुन्। 

तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रहेकी उनी २०४८, २०५१, २०६४ र २०७४ सालमा सांसद बनेकी थिइन्।  

उनी सर्लाही क्षेत्र नम्बर २ बाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी थिइन्। २०५६ सालमा भने राजेन्द्र महतोसँग उनी पराजित भएकी थिइन्। 

पद्मकन्या कलेजमा उनी स्ववियु सभापति पनि निर्वाचित भएकी थिइन्। 

प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उनी विजयी भएकी थिइन्।त्यतिबेला भने उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पनि बनिन्। 

२०५६ सालको संसदीय निर्वाचनमा पराजित भएकी उनी स्थायी रूपमा काठमाडौंमै बस्दै आएकी थिइन्।

राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला उनी ६ महिना जेलसमेत बसेकी थिइन्। 

उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ।

स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम

    कांग्रेस केन्द्रीय कार्यालयले स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ। यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन्।

साथै सभापति देउवाले नेतृ पाण्डेको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हकअधिकारका लागि उनले पुर्याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताए। 

जेठ १६, २०८० मंगलबार १७:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।