माओवादी संसदीय दलको बैठकः बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

माओवादी संसदीय दलको बैठकः बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडौँः नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ। 

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सांसदहरूले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्ध अभियानबारे जिज्ञासा राखेका थिए।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता प्रचण्डले सरकारले संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताएका सांसद माधव सापकोटाले जानकारी दिए।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन तथा अनियमिताका अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेका उनले बताए।

'प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताए', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने।

संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ। 

अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र सदस्य डा. रामकुमार फुयाँलले सहजीकरण गरिरहेका छन्।

जेठ १६, २०८० मंगलबार १७:२४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।