प्रचण्डले भारत भ्रमणमा नेपालको भूमि राखिएको नक्साबारे कुरा उठाउनुपर्छः ओली

प्रचण्डले भारत भ्रमणमा नेपालको भूमि राखिएको नक्साबारे कुरा उठाउनुपर्छः ओली
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमण क्रममा नेपालको भूमि समावेश गरिएको नक्साबारे विषय उठाउनुपर्ने एमाले अध्यक्ष केपी ओलीले बताएका छन्।

अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले भारतको संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित नभएको समेत बताए। 

भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताए। 

उनले भने,‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन।’

ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए। ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’ उनले भने ।

प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने तयारी छ।

जेठ १६, २०८० मंगलबार १७:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।