चौथो अंगः काँठ क्षेत्रका इस्यु सुदूर गाउँका जति पनि आएनन्, हामीले लेख्नै सकेनौँ
राजधानीसँगै जोडिए पनि काँठ क्षेत्रबारे पत्रकारिता क्षेत्रमा रिपोर्टिङ हुन सकिरहेको छैन।
उदाहरणका लागि काठमाडौँमा हुने जात्राहरूको सरकारले बिदा दिन्छ, खर्च पनि उपलब्ध गराउँछ।
उपत्यकासँगै जोडिएका जिल्लाहरूमा पनि जात्रा हुन्छ न त खर्च दिन्छ, न त बिदा नै दिन्छ। यसको अर्थ जात्रा हुने अन्य स्थानमा पनि बिदा दिनुपर्छ भनेको होइन, तर कुनै जात्रालाई राष्ट्रिय महोत्सवजस्तो गर्ने, कुनै जात्रालाई मतलबै नगर्ने सरकारको रवैया ठीक होइन।
उपत्यकासँग जोडिएका जिल्ला त बत्तीमुनिका अध्याँरोमा छन् भने झन सुदूर जिल्लामा हुने सांस्कृतिक पर्वहरूमा सरकारको ध्यान जाने कुरै आएन।
सांस्कृतिक कुरामा मात्रै होइन, काँठ क्षेत्रका धेरै विषयको उठान हुन आवश्यक छ। तर जसरी हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन।
थरीथरीका पत्रकारिताका विद्यार्थी
मैले पत्रकारिता गरेको ६३ सालपछि हो। कक्षा ११ पढ्दा नै काभ्रेमा 'चेष्टा साप्ताहिक'मा काम गरेँ। खबर चौतारीको सहसम्पादक पनि भएँ।
पत्रिकामा रिपोर्टिङ गर्नेदेखि पसल पसलमा पत्रिका पुर्याउने काम १५ वर्ष गरियो। स्नातक तहमा पत्रकारिता नै पढेकाले स्नातकोत्तर पनि पत्रकारिता नै गरौँ भनेर अहिले म पत्रकारिता केन्द्रीय विभागमा भर्ना भएको छु।
मैले पत्रकारिता सुरु गर्दा पत्रकारितामा राम्रो भविष्य देख्नेहरू थिए। अहिले धेरै फेरिएछ। मभन्दा ८/१० वर्ष कान्छा साथीहरूसँग पढ्दा उस्तो सोचाइ परिवर्तन त नहुनुपर्ने हो, तर धेरै फरक पाएँ।
एकथरी पत्रकारिता पढ्नेहरू पत्रकारिता पनि गर्दै गरेका र पढ्दै गरेका भेटिए। उनीहरूले हामी पत्रकारिता पढेकाले नवीनतम तरिकाले पत्रकारिता गर्नुपर्छ भन्ने नयाँ जोस रहेको पाएँ।
नयाँ एंगल दिने अझ समाचारलाई कसरी विश्वासिलो बनाउने भनेर सोच विचार र चिन्तन गरेको देखिन्छ।
अर्काे भिडियो 'पडकाष्ट' अहिले आएका माध्यमबाट कसरी काम गर्ने भनेर कन्टेन्ट क्रियटमा काम गरिरहेका छन्। अनुसन्धानमा गरिरहेका छन्।
त्यस्तै तेस्रोमा पत्रकारिता नगर्ने तर विभिन्न कार्यालयहरूमा मिडिया एडभाइजर कम्युनिकेशन अफिसर भएर काम गर्नु पर्छ भन्ने सोचाइका साथ अघि बढेका साथीहरू भेटियो।
त्यस्तै अर्काे मिडियाको कन्टेन्ट अनुसन्धान गर्न रुचि भएका पनि छन्। यसरी हेर्दा सबै पत्रकारिता पढ्नेको पत्रकारिता गर्ने नै उद्देश्य हुन्छ भन्ने हुँदो रहेनछ।
एउटा अभाव देखेकोचाहिँ मिडिया बिज्नेस कसरी गर्ने भन्नेमा हामी विद्यार्थीको ध्यान पुगेको पाइएन। यो विषयमा क्याम्पसमा पनि निकै कम छलफल हुन्छ।
प्रायः मिडियाले आर्थिक संकट भोगिरहन्छन्। तर यो क्षेत्रबाट पलायन हुनेभन्दा पनि नवीनतम शैलीबाट मिडिया व्यवसायका आइडियाबारे छलफल हुनुपर्ने हो, त्यो देखिएन।
हुन त हाम्रो हरेक क्षेत्रमा उद्यमशीलताको लागि थिंक ट्याकको अभाव देखिन्छ। सायद मिडिया व्यवसायमा पनि त्यसैको अभाव देखिएको होला।
व्यक्तिगत रुपमा मचाहिँ काम गर्दै पढ्दै गरेकोमा पर्छु। लामो समय काठ क्षेत्रमा बसेर पत्रकारिता गरे पनि ४ वर्षदेखि काठमाडौँमै बसेर पढ्दै काम गर्दै गरेकाले पत्रकारितामा धेरै फरकपन पाइरहेको छु।
काठ क्षेत्रको इस्यु उठान गर्नै सकेनौँ
सुनकोशी र इन्द्रावती नदीमा स्काभेटर राखेर नदी दोहन भइरहेको छ। जबकि यो गर्न पाइँदैन। पालिका आफैंले यसलाई बन्द गराउन पनि सक्छ। तर न त पालिकाले बन्द गराउँछ। न त प्रहरीले केही काम गर्छ, न त पत्रकारले नै लेख्छ।
किन ? यदि कसैले लेख्यो भने पनि उसलाई धम्क्याउनेदेखि गाउँमा बस्नै नसक्ने स्थिति बनाइन्छ। यसबारे रिपोर्टिङ केहीले त गरे, तर मुखरित हुने गरी उठाउनै सकेनौँ। धेरैजसो पत्रकारहरू पनि क्रसर उद्योगीकै नजिकको भइदिएपछि कसरी उठोस् इस्यु ?
काठ क्षेत्रको सांस्कृतिक पाटो उपत्यकाको संस्कृतिले गर्दा ओझेलमा परेको छ। लोकभाका केही चर्चित भए पनि अन्य पुरातात्विक विषयहरू उत्खनन भएकै छैनन्।
त्यस्तै अर्काे मुख्य समस्या हो कृषि क्षेत्रमा बिचौलिया हाबी। सिजनमा पाँचखालको आलु ४० रुपैयाँ धार्नी हुन्छ, जबकि त्यही आलु यही काठमाडौमा १ सयभन्दा माथि पुग्छ।
बिचौलिया हाबी भएर किसानले उपयुक्त मूल्य पाइरहेका छैनन्। उपत्यका नजिकै जिल्लामा त बिचौलिया यति हाबी हुन्छन् भने अन्यत्र के होलान् ? तपाईंले यो इस्यु किन उठाउनुभएन भन्नुहोला। हामीले इस्यु उठाएका छौैँ तर प्रभावकारी हुन सकेको छैन।
केहीले मात्रै उठाएर बिचौलियाको जालो हटाउन सकिँदो रहेनछ। दलालीको दलालीकरण रोक्न सकिँदैन।
काठ क्षेत्र भन्नेबित्तिकै नजिकका शहरमा गएर रिपोर्टिङ गर्ने सम्झन्छन् साथीहरू। ठूला ठूला कार्यक्रम हुन लागेको बेला यहीँबाट पत्रकार लैजान्छन्। स्थानीय पत्रकारको गनितो मनितो नै हुँदैन। काठमाडौँको पत्रकारलाई ठाउँ पनि घुमिने, जिब्रो पनि फेरिने। आफ्नो अफिसको त्यही रिपोर्टर छ भने उसले पनि त्यो कार्यक्रमको जानकारी नै दिँदैन।
काठ क्षेत्रको पत्रकारिता मोफसलभन्दा फरक पर्दैन। किनभने काठ क्षेत्रको पत्रकारलाई न त सम्पादकले बेला बेला बोलाएको हुन्छ, न त समयमै तलब पठाएको हुन्छ। त्यसैले त काठ क्षेत्रका पत्रकार पनि कहिले सीडीओ, कहिले त्यहीँका स्थानीय राजनीतिक दल विभिन्न संघसंस्थामा आबद्ध हुन बाध्य छन्।
काभ्रेकै कुरा गर्दा काठमाडौँबाट आधा घण्टा पुग्ने स्थान पनि छन्। बनेपाबाट १८ घण्टा लाग्ने स्थान पनि छन्। काभ्रेकै कुना काप्चाको रिपोर्टिङ हुन सकेका छैनन्।
पत्रकार सुध्रिए पत्रकारिता सुध्रिन्छ
काठ क्षेत्रको मात्र होइन, दिनहुँ रिपोर्टिङ गर्ने पत्रकारले पढ्नैपर्छ। हामी पत्रकारको पढाइ अलि कम भएको छ। शुद्ध लेख्न सक्ने पत्रकार निकै कम छन्। सम्पादन गर्ने क्षमतालाई बढाउँदै लैजानुपर्छ।
प्रलोभनबाट जोगिुपर्ने देखिन्छ। आफ्नो पत्रकारलाई प्रलोभनबाट जोगाउन तोकिएको तलब समयमै दिने वृत्ति विकास समयाअनुकूल गराउँदै लैजानुपर्छ।
अधिकांश पत्रकारिता पढिरहेका विद्यार्थीलाई समयमै तलब पाइँदैन भन्ने लागेको छ। यो गलत हो। अधिकांश मिडियाले पत्रकारको वृत्ति विकासमा ध्यान दिएका छन्। तलब मात्रै होइन, तालिमदेखि रिफ्रेसमेन्टसम्मका कार्यक्रम छन्।
पत्रकारका पनि कमजोरी छन्। समयमै काम नभ्याउने, सम्पादकले अह्राएको कामसमेत नगर्ने देखिन्छ। पत्रकारिता गर्ने हो भने काम गर्ने हो। कार्यक्रममा मात्रै जाने होइन। माध्यमअनुसार आफूलाई समयअनुसार अपग्रेड त गराउनै पर्छ।
(गोरखापत्रमा कार्यररत पौडेल पत्रकारिता स्नातकोत्तर तहमा अध्ययनरत छन्। पत्रकारिता पढ्दै गरेका विद्यार्थीले पत्रकारितालाई कसरी हेर्छन् भन्ने सन्दर्भमा काँठ क्षेत्रको पत्रकारिता र पत्रकारिताको पढाइमा आधारित भएर चौँथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानी )
चौथो अंगका पुराना श्रृंखला
जेठ १६, २०८० मंगलबार १५:३१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।