अघि बढ्यो प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया, सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया, सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौ: संसदीय सुनुवाइ समितिको आज (मंगलबार) बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ।

यो निर्णयसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया पनि अघि बढेको छ। कार्की संवैधानिक परिषदबाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ।

उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ। कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ। यसबारे सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारी हुन बाँकी छ।

बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो। बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ।

जेठ १६, २०८० मंगलबार १२:०४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।