कर्णालीलाई यसरी समेट्यो बजेटले

कर्णालीलाई यसरी समेट्यो बजेटले

सुर्खेत : केन्द्र सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लामा लिफ्ट सिंचाई सुविधा पुर्याउन ‘कर्णाली एकीकृत सिंचाई आयोजना’ सञ्चालन गर्ने घोषणा गरेको छ। 

यसपालिको बजेटमा घोषणा गरिएका आयोजना मध्ये प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै आयोजनाहरु समेटिएका हुन्।

बजेटमा अर्गानिक उत्पादन (कोदो, फापर, जौ लगायतका) वस्तुको खरिद गर्ने घोषणा गरिएको छ। त्यस्तै कर्णालीमा महिलाहरुका लागि बढी लाभदायी मानिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ।

सरकारले सुर्खेतमा औषधि परीक्षण प्रयोगशालाको स्थापना, भेरीगंगाको छिन्चुमा निर्माणाधिन सरुवा रोग अस्पताल, सुर्खेत मेडिकल कलेज स्थापनाको कामलाई अगाडि बढाउने, पञ्चपुरीमा जलवायु अनुकूल खानेपानी आयोजना, भेरी पम्पिङ आयोजना सञ्चालन, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत खण्डको निर्माण गर्ने र राता नाङ्लाको राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ।

यस्तै सुर्खेतको भेरी बबई बहुद्देश्यीय आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट विनियोजन गरेको छ। आयोजना र पावर हाउस निर्माणका लागि यो बजेट विनियोजन गरिएको हो। आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याइने छ।

यसैगरी सुर्खेतमा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा पूर्ण सञ्चालनको प्रक्रिया अगाडि बढाउने र भेरीगंगा उपत्यकाको सहरी विकासका लागि गुरु योजना निर्माण जस्ता आयोजनाहरु समेटिएका छन्।

यस्तै दैलेखका तीन वटा महत्वपूर्ण आयोजनाहरु समेटिएका छन्। जसमध्ये पेट्रोलियम पदार्थको उत्खनन् सबैभन्दा ठूलो आयोजना हो। सरकारले पेट्रोलियम पदार्थ उत्खननको बाँकी काम अगाडि बढाउन बजेट विनियोजन गरेको घोषणा गरेको छ।

उता आठविस नगरपालिकाको राममा स्याटालाईट अस्पताल स्थापना तथा सञ्चालन गर्ने घोषणा भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी १०० शैयाको स्याटालाईट अस्पताल स्थापना गरिने भएको हो।

सरकारले दैलेखको पञ्चकोशी क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यकरण र महावुमा जलवायु अनुकूल खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरेको छ।

यस्तै जुम्लामा विमानस्थलको स्तरोन्नति र मार्सी चामलको ब्रान्डिङ जस्ता महत्वपूर्ण आयोजनाहरु छन्। सरकारले मार्सी ब्रान्डिङ मात्र नभएर मार्सी धान खरिद समेत गर्ने घोषणा गरेको छ। यस्तै जुम्लाको चर्चित धार्मिक पर्यटकीय स्थल चन्दननाथको विकासका लागि बजेट विनियोजन गरेको छ।

रुकुम पश्चिममा सरकारले तीन ठूला तथा रणनीतिक आयोजनाहरु सञ्चालन गर्ने घोषणा गरेको छ। जसमध्ये रुकुम जिल्ला सदरमुकामसम्म जोड्ने राप्ती राजमार्गको स्तरोन्नति सर्वसाधारण नागरिकका लागि सबैभन्दा महत्वपूर्ण आयोजना हो।

हाल यात्रु अभावका कारण बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थलको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा पदमार्ग पनि स्थापना गर्ने घोषणा गरेको छ। यस्तै सल्यानमा सरकारले तीन वटा वटा ठूला आयोजना समेटेको छ।

जसमध्ये राप्ती राजमार्गको स्तरोन्नति महत्वपूर्ण आयोजना हो। रुकुम पश्चिमको सदरमुकामसम्म जोड्ने यो आयोजनाको लाभ सबैभन्दा सल्यानले नै लिइरहेको छ। राप्ती राजमार्गको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा ९० करोड बजेट विनियोजन गरेको छ।

यस्तै पर्यटकीय क्षेत्र छत्रेश्वरीको विकास तथा संरक्षणका लागि पनि सरकारले बजेट विनियोजन गरेको घोषणा गरेको छ। विश्वमै प्रख्यात सल्यानको अदुवाको ब्रान्डिङ समेत गर्ने घोषणा गरेको छ।

कालिकोट, मुगु र हुम्लालाई संयुक्त रुपमा जोड्ने खुलालु–सल्लीसल्ला सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट विनियोजन भएको छ। यो सडक तीन वटै जिल्लाका लागि उत्तिकै महत्वपूर्ण आयोजना हो। कर्णाली करिडोर अन्तर्गत पर्ने यही सडकले नै हुम्ला सदरमुकामलाई जोड्ने गर्दछ।

सरकारले हुम्ला सदरमुकामलाई आउँदो चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ। जसका लागि आउँदो आर्थिक वर्षभित्र बाँकी खण्डको ट्रयाक खोल्ने काम सम्पन्न गर्ने घोषणा गरेको छ।

दैलेख, कालीकोट, मुगु र हुम्लामा राष्ट्रिय विद्युत प्रसारणलाई विस्तारका लागि कर्णालीमा ४ सय मेघावाट विद्युत लाइन विस्तार गर्ने योजना पनि बजेटमा समेटिएको छ।

यस्तै सरकारले जाजरकोट र डोल्पालाई संयुक्त रुपमा जोड्ने भेरी करिडोरको स्तरोन्नतिका लागि ५० करोड बजेट विनियोजन गरेको छ। ट्रयाक खोल्न बाँकी रहेको जाजरकोटको मध्य पहाडी लोकमार्गको बाँकी काम पनि सम्पन्न गर्ने घोषणा गरिएको छ।

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको पनि सञ्चालनमा ल्याउने सरकारले बजेटमा घोषणा गरेको छ। साथै बजेटमा हिमाली जिल्लामा रहेका एक सय वर्ष पुराना गुम्बाहरुको संरक्षण गरिने उल्लेख छ।

जेठ १६, २०८० मंगलबार १०:५५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।