धोनीसँग हारेकाले फाइनल हार्नुमा मलाई खासै दु:ख छैन : हार्दिक पाण्डेय
एजेन्सी : अन्तिम बलमा खेल हार्दै आईपीएलको उपाधि गुमाएपछि गुजरातका कप्तान हार्दिक पाण्डेयले धोनीसँग हारेकाले फाइनल हार्नुमा आफूलाई खासै दु:ख नलागेको बताएका छन्।
धोनीलाई आफ्नो गुरु सरह मान्ने उनले खेल पछि भने, ‘म धोनीको लागि धेरै खुसी छु। भाग्य उनको पक्षमा थियो। मैले हार्नु नै थियो भने धोनीसँग हार्नुमा मलाई कुनै दु:ख छैन।’
‘मैलै गत वर्ष नै भनेको थिए राम्रा मानिससँग राम्रै हुन्छ। हिजो भगवान मसँग दयालु भएका थिए। तर मलाई लाग्छ उनले धोनीलाई अझ बढी दिए,’ उनले थपे।
वर्षाले प्रभावित फाइनल खेलमा अन्तिम दुई बलमा चौका र छक्का हान्दै जडेजाले चेन्नईलाई पाँचौं उपाधि दिलाएका थिए। २१४ रनको विशाल स्कोर बनाए पनि डिफेन्डिङ च्याम्पियन गुजरातले भने लगातार दोस्रो वर्ष लिग जित्ने मौका सदुपयोग गर्न सकेन।
जेठ १६, २०८० मंगलबार ०९:२५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।