कलाकारको मुहार चम्काउने मेकअप म्यान शन्तु, जसको जीवनयात्रा भने अझैँ फिक्कै छ
नेपाली चलचित्र क्षेत्रमा कलाकारको अनुहारलाई चम्काउने जिम्मेवारी हो शन्तु तामाङको। उनले अनुहार चम्काएका धेरै कलाकारको करिअर पनि सँगै चम्किएको छ। तर, उनी गुमनाम समान छन्।
करिव ४५ वर्ष भयो उनले यो पेशा शुरू गरेको। पहिला काभ्रेबाट आउँदा भाँडा चम्काउने काम पाएका थिए उनले। अरूको भान्सा, बैठक कोठा, बगैँचा लगायत सिङ्गो घर चम्काउने काम गर्थे।
काभ्रेको बेथान्चोक नगरपालिका उनको जन्मघर। आर्थिक अवस्था कमजोर। पढ्न स्कुलमा भर्ना त भए तर, तीन कक्षाको जाँच पनि दिन सकेनन्।
यो बुढो भयो, यसले काम गर्न सक्दैन, यो महँगो छ भन्ने गर्न थालेका छन्। म त्यस्तो महँगो पनि हैन। अहिले पनि दिनको तीन-चार(हजार)मै काम गर्न त सक्दिन नि!
बाह्र वर्षको उमेरमा आमा गुमाउनुको पीडा अनि सानी आमा घरमा भित्रिएपछिको पीडा सम्झन खोज्दा अझै पनि उनको आँखा रसाउँछ। सानै उमेर भए पनि घरको जेठो छोरा।
बहिनीहरूको जिम्मेवारी पनि उनले नजानिदो रूपले बहन गरिसकेका थिए।
घरको तनाव देखेर आफन्त र छरछिमेकले समेत उनलाई ‘याम्बु’अर्थात् काठमाडौं गएर काम गर्न सुझाव दिए। उनी राजी भए।
‘मामामाइजु र हजुरआमाले पनि जान भन्नुभयो। सातदोबाटोमा मेरो ठूल्बुवा बस्नुहुन्थ्यो। यता आएर उहाँहरूसँग केहि दिन बसेँ। ठूलोममीले अरुको घरमा काम पनि मिलाइदिनुभयो’, काठमाडौं आएको पल सम्झिँदै उनले सुनाए।
उमेर सानो भए पनि उनलाई काममा राखे। त्यतिबेला न शन्तुले नै काम गरेबापत पढ्न पाउनुपर्ने शर्त राखे, न घर धनीले नै त्यो ध्यान दिए।
एउटा पक्षलाई काम चाहिएको थ्यो अनि अर्कोलाई काम गर्ने मान्छे। त्यत्तिकैमा उनको कामको छिनोफानो भयो। उनी जसको घरमा काम गर्थे, उनी थिए तत्कालीन शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक उत्तमलाल श्रेष्ठ। घरमा काम गर्दा-गर्दै उनी पनि पछि संस्थानमा श्रेष्ठसँगै जान थाले।
हेर्दा-हेर्दै मेकअपमा प्रवेश
रिटायर्ड हुनुभन्दा अगाडि महाप्रबन्धक श्रेष्ठले शन्तुलाई पनि संस्थानमा कार्यालय सहयोगीको काममा लगाइदिए। घर र संस्थानमा काम गर्दा उनलाई गाह्रो नभएको होइन। तर, त्यहाँको वातावरण देखेर उनी मोहित भइसकेका थिए। घर र संस्थानमा सँगसँगै तीन वर्ष चिया पकाउने, खुवाउने, टेबल पुछ्ने काम गरे।
‘संस्थानमा काम गरेपछि चाहिँ घरमा काम गरेको पैसा दिनुहुन्नथ्यो। त्यहाँ बस्न र खान चाहिँ दिनुहुन्थ्यो’, उनले सुनाए।
धेरै समय संस्थानमै बिताउने हुँदा उनले त्यस समयमा बन्ने हरेक टेलिफिल्म, विज्ञापन र फिल्महरूको कामलाई नजिकबाट नियाल्ने मौका पाए।
त्यो बेलामा मेकअप आर्टिस्टहरू इन्डियाबाट ल्याउनुपर्थ्यो। जीवन रेखा भन्ने फिल्मको सुटिङ्ग चलिरहेको थियो। त्यसको डाइरेक्टर लक्ष्मीनाथ शर्मा अनि अन्य डाइरेक्टरहरू प्रदिप रिमाल र प्रेम बस्नेतले तिमी पनि सिक भने। त्यसपछि तालिम पनि हुने कुरा भयो। उनले निवेदन दिए, अनि सिके।
अहिले विकास बोर्डले जेष्ठ नागरिक कलाकार र प्राविधिक सबैलाई महिनाको पाँच हजार दिने गरेको छ। त्यसैलाई पेन्सन मानेर बस्नुपरेको छ।
२०३७ सालमा ‘बदलिँदो आकाश’ नामक चलचित्रबाट सहायक मेकअपम्यानका रूपमा उनले काम सुरू गरे। चलचित्र ‘मायालु’बाट भने पूर्ण मेकअपम्यानका रूपमा उनको काम सुरू भयो।
नेपालका नामुद कलाकारहरूको पहिलो फिल्ममा शन्तुले पनि काम गरेका छन्। शिव श्रेष्ठको पहिलो फिल्ममा उनले ‘स्पट बोय’ को रूपमा काम गरे अनि राजेश हमालको पहिलो फिल्ममा भने मेकअप म्यान भएर काम गरे।
भन्ने मेकअप म्यान, गर्नुपर्ने सबै
‘नेपाल टेलिभिजनको स्थापना भएपछि चाहिँ म अलि बढी व्यस्त हुन थालेँ। टेलिफिल्महरू बन्न थाले। विज्ञापनहरू बन्न थाले। समय गएको नै थाहा भएन’, उनले भने।
मेकअप म्यान भएर काम गरिसकेपछि पनि उनी प्राय फिल्ममा अलग-अलग काम पनि गर्थे। कुनैमा सहायक पात्र भएर खेल्थे। कुनैमा लाइट म्यान हुन्थे। कुनैमा भने क्यामेराम्यान बनेको उनको अनुभव छ।
करिब १५ वटा भन्दा बढी चलचित्रको त पोस्टरको लागि फोटो समेत खिचेका छन् उनले।
‘नेपालमा भर्खर-भर्खर भिडियो फिल्महरू बन्दा मैले लाइटिङ पनि गर्थेँ। कुनै-कुनैमा शन्तु तिमी खिच्देऊ त भन्नुहुन्थ्यो। म गर्थेँ पनि। गौरी शंकर भन्ने क्यामरा म्यान हुनुहुन्थ्यो। मेकअप म्यान भए पनि सबै काम गर्थे,’ उनी भन्दै गए, ‘केही फिल्ममा साउण्ड पनि चलाएको थिए। बेला-बेला क्ल्याप पनि हान्थेँ। पोस्टरहरू बनाएकोमा सबैभन्दा चर्चित भएको चै विषालु भन्ने फिल्मको हो।’
अहिले मान्छेहरूलाई चित्त बुझाउन गाह्रो छ। धेरै जसोले पार्लर चलाएकालाई लिन खोज्छन्। प्रायले त पर्सनल पनि राख्छन्। हाम्रो काम भनेको आकाशे खेती हो। कसैले बोलाए भने जाने नत्र कुरेर बस्ने।
पहिला एकजनाको मेकअप गर्न दुई-तीन घण्टासम्म लगाउने शन्तु अहिले भने २० मिनेटमै तयार गरिदिन्छन्। अहिले कलाकारहरू आफैँ पनि मेकअप गर्छन्। नयाँ कलाकारहरूले त झन् मेकअप आर्टिस्टहरू भनेरै राख्ने गरेका छन्। केही पुराना कलाकारहरूले ‘दाइ तपाईंले नै गरिद्नु’ भन्छन्। उनी तयार हुन्छन्।
मेकअप गरेर पहिलो पारिश्रमिक कति पाए भन्ने उनलाई याद छैन। तर,पछि चाहिँ दैनिक तीन सय पाउँथे रे।
उनलाई काम गर्न सबैभन्दा सजिलो लागेको करिश्मा मानन्धर, रेखा थापा र मिथिला शर्मासँग रहेछ। मिथिला शर्मा र करिश्मासँग त उनी यति नजिक छन्, कि हरेक वर्ष भाइटीकामा उनीहरूको हातबाट टीका लगाउन भ्याउँछन्।
चलचित्र प्राविधिक संघको नेतृत्व
२०५० मा उनले आफ्नै मेकअप स्टुडियो पनि खोले। तर, तीन चार वर्ष भन्दा बढी चलेन। लकडाउनपछि पनि शैलुन खोलेका थिए। त्यो पनि त्यत्तिकै बन्द भयो। पछि उनी चलचित्र प्राविधिक संघको संस्थापक पनि भए।
‘त्यो बेला कलाकार संघ मात्र थ्यो। हामी जाने ठाउँ थिएन। कलाकार संघमा गएर बसिराख्थ्यौं,’ उनले सुनाए, ‘त्यो बेलामा बसुन्धरा दिदी त्यहाँको अध्यक्ष हुनुहुन्थ्यो। उहाँले तिमीहरूको पनि संघ खोल भन्नुभयो। त्यसपछि मोहन निरौला दाई र म बसेर विधान लेख्यौं।’
त्यो बेलामा डेढ-दुई सय सदस्य भन्दा बढी थिएनन्। प्राविधिक संघमा उनले करिब १३ वर्षसम्म नेतृत्व गरे। संघकै रोहवरमा चलचित्र विकास बोर्ड पनि गठन भयो।
‘अहिले विकास बोर्डले जेष्ठ नागरिक कलाकार र प्राविधिक सबैलाई महिनाको पाँच हजार दिने गरेको छ। त्यसैलाई पेन्सन मानेर बस्नुपरेको छ। अस्वस्थ भएको बेलामा केही सहयोग भने गर्छ,’ उनले भने।
प्राविधिक संघमा भएका पुराना प्राविधिकहरूलाई नै विभिन्न प्रोजेक्टमा लिने गरेको भए पनि अहिले भने सबै ठेक्कामा हुने भएकाले आफुहरूलाई काम पाउन गाह्रो भइरहेको उनले सुनाए। काम पाइहाले पनि काम चलाउ पारिश्रमिक मात्र दिने गरेको उनले दुखेसो पोखे।
‘पुरानो मान्छेहरूले काम गर्न सक्दैन, नयाँ चाहिन्छ भन्ने गरेको छ। त्यस्तो मैले पनि सुनेँ। यो बुढा भयो, यसले काम गर्न सक्दैन, यो महँगो छ भन्ने गर्न थालेका छन्। म त्यस्तो महँगो पनि हैन। अहिले पनि दिनको तीन-चार(हजार)मै काम गर्न त सक्दिन नि!’, उनले आफ्नो दुखेसो पोखे।
हरिवंश दाइहरूको टेलिफिल्ममा काम गर्दा अलि चुनौतीपूर्ण हुन्थ्यो। चिरन्जीवी भन्नेमा उहाँलाई बुढो बनाउनुपर्ने। बनपाले भन्नेमा तक्लु बनाउनुपर्ने।
उनले अहिले दिनको पाँच हजारसम्म लिने गरेको बताए। अनि अर्को भनेको जति धेरै जनाको मेकअप गर्नपर्यो त्यति नै बढ्दै जाने हो।
‘अहिले मान्छेहरूलाई चित्त बुझाउन गाह्रो छ। धेरै जसोले पार्लर चलाएकालाई लिन खोज्छन्। प्रायले त पर्सनल पनि राख्छन्,’ उनले भने, ‘हाम्रो काम भनेको आकाशे खेती हो। कसैले बोलाए भने जाने नत्र कुरेर बस्ने।’
अहिलेसम्म उनले दुई सय भन्दा बढी फिल्म, ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन्। अहिले पनि फट्टा-फुट्ट विभिन्न प्रोजेक्टमा काम गरिरहेका छन्। तर, त्यस्तो व्यस्त हुने मौका पाएका छैनन्।
जीवनको ६०औं वसन्तमा रमाइरहेका शन्तुको ७५ प्रतिशत आयु चलचित्र क्षेत्रमै बितिसकेको छ। तर, आफूलाई नै यो चाहिँ मैले दामी गरेँ है भन्ने लायकको काम भने औंलामा गन्न मिल्ने मात्र भएको स्वीकार्छन्।
पहिलाको जस्तो चुनौती नै छैन !
‘कागबेनी’ फिल्मको मेकअप उनलाई मनपर्ने रहेछ। मुस्ताङमा सुटिङ्ग गर्दा कलाकारको मेकअपको जुन टोन निकाले त्यो अहिले पनि सम्झन्छन्। त्यो उनको मेकअप देखेर दिया मास्के, सौगात मल्ल दङ्ग परेका थिए रे।
त्यस्तै ‘झोला’ फिल्मको मेकअपको पनि सबैले तारिफ गरेका थिए। ‘मुक्तिदाता’को पनि निकै प्रसंशा भएको थियो रे। त्यो समयमा अहिले भन्दा बढी चुनौतीपूर्ण काम गर्न पाएको उनले अनुभव छ।
‘हरिवंश दाइहरूको टेलिफिल्ममा काम गर्दा अलि चुनौतीपूर्ण हुन्थ्यो। चिरन्जीवी भन्नेमा उहाँलाई बुढो बनाउनुपर्ने। बनपाले भन्नेमा तक्लु बनाउनुपर्ने। अहिले त्यस्तो छैन। तर, अरुलाई थप चुनौती हुँदै गएको मलाई नभएको पनि हुनसक्छ’, उनले भने।
दोश्रो पुस्तासम्म काम गर्न पाएको छु। तेस्रो पुस्तासम्म काम गर्न पाइयोस् भन्ने हो।
नेपालमा अझै पनि मेकअपलाई वृहत रूपमा नहेरेको हो कि भन्ने लाग्छ उनलाई। मेकअप कलालाई सामान्य व्यवहार गरेको जस्तो लाग्छ उनलाई।
‘मेकअप भनेको त फिल्मको जीवनै हो नि! विदेशमा स्क्रिप्ट लेख्दा नै यो यस्तो हुन्छ भनेर कन्सेप्ट भइसकेको हुन्छ। तर, यहाँ त पर्सी सुटिङ्ग छ भने आज हामीलाई भन्ने गर्छ’, उनले भने।
हिन्दी फिल्म ‘पा’ मा अमिताभ बच्चनलाइ गरेको मेकअप र धूममा हृतिक रोशनलाई गरेको जस्तै मेकअप आफूलाई पनि गर्ने इच्छा रहेको उनले सुनाए।
अहिलेसम्म जति पनि यस क्षेत्रमा आफ्नो श्रम प्रयोग गरे त्यसमा सन्तुष्ट भएको उनको अनुभव छ।
‘अर्को काम गर्यो भने पनि यहीमात्र याद आउँदो रहेछ। कहिलेसम्म भन्ने छैन। जहिलेसम्म मेरो शरीरले साथ दिन्छ तबसम्म यसै क्षेत्रमा खटिरहने इच्छा छ,’ उनी थप्छन्, ‘दोश्रो पुस्तासम्म काम गर्न पाएको छु। तेस्रो पुस्तासम्म काम गर्न पाइयोस् भन्ने हो।’
उनी पुन: फर्किए काभ्रेको यादमा।
काठमाडौं आएको ३५ वर्षपछि मात्र उनले आफ्नो गाउँमा पाइला टेके। त्यै पनि श्रीमतीले जबरजस्ती गरेपछि। बहिनीहरू यतै आएर भेट्न थालेपछि उनले गाउँको माया चटक्कै मारिसकेको थिए।
पछि उनको आमाबुबाले बुढो भएँ भन्न थाले। उनको श्रीमतीले पनि कर गरेपछि घर गए। उनीभन्दा पहिला उनको श्रीमती गएकी रहिछिन् काभ्रे।
अनि उनले सबै कुरा मिलाएर फर्किएपछि मात्र उनी गए। अहिले शन्तुको एउटा छोरा छ, भर्खरै १२ कक्षाको जाँच दिएर बसेको।
जेठ १५, २०८० सोमबार २३:१३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।