आईपीएल फाइनलमा बन्यो सर्वाधिक रन तर साई सुदर्शन शतक बनाउन ४ रनले चुके

आईपीएल फाइनलमा बन्यो सर्वाधिक रन तर साई सुदर्शन शतक बनाउन ४ रनले चुके

इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको लक्ष्य दिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २१४ रन बनायो।

४७ बलमा ९६ रन बनाएर आउट भएका साई सुदर्शन शतक बनाउनबाट चुके।

गुजरातका तर्फबाट ऋद्धिमान साहाले ५४, शुभमन गिलले ३९ र हार्दिक पाण्ड्याले २१ रन बनाए। चेन्नईका मथिश पाथिरानाले २ विकेट लिए। दीपक चाहर र रविन्द्र जडेजाले १-१ विकेट लिए। 

शुभमन गिलपछि ३ नम्बरमा ब्याटिङ गर्न आएका साई सुदर्शनले स्थिर सुरुवात गरे। त्यसपछि १२ औं ओभरपछि छक्का चौका बर्साउँदै रन बटुल्न थाले। उनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरे।

गुजरातका ऋद्धिमान साहाले ३६ बलमा अर्धशतक बनाए। उनले पावरप्ले ओभरमा नै ठूला सटहरू प्रहार गरेका थिए। उनले पहिले गिलसँग ६७ रनको साझेदारी गरे, त्यसपछि साई सुदर्शनसँग ६४ रनको साझेदारी गरे।

उनी ३९ बलमा ५४ रन बनाएर दीपक चाहरको शिकार बने।

गुजरातले आज चेन्नईलाई दिएको लक्ष्य आईपीएलको फाइनलमा सर्वाधिक बढी हो। यसअघि सन् २०१६ मा सनराइजर्ज हैदरावादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २०८ रनको लक्ष्य दिएको थियो। उक्त खेल हैदरावादले ८ रनले जितेको थियो। 

गुजरात लगातार दुई सिजन फाइनलमा पुगेको छ। ऊ अघिल्लो सिजनको विजेतासमेत हो। 

 

१५ जेठ, २०८०, २१:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।