पहिलोपटक मलेसियासँग हार्‍यो नेपाली टोली

पहिलोपटक मलेसियासँग हार्‍यो नेपाली टोली

काठमाडौं : पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँग पराजित भएको छ।

मलेसियाको वाइएसडी यूकेएम ओभल मैदानमा सोमबार भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।

नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार बेहोरेको हो। यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो।

यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ।

खेलमा नेपालले दिएको ५१ रनको झिनो लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन् भने हमिजाहले अविजित १२ रन बनाइन्।

नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २/२ विकेट लिँदा कविता कुँवरले थप १ विकेट हात पारिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रनमा समेटियो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाउँदा ज्योति पाण्डेले ११ रन बनाइन्।

बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिए।

सिरिजअन्तर्गत दोस्रो खेल मंगलबार विहान ८ बजे हुनेछ।

जेठ १५, २०८० सोमबार १५:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।