आज पनि वर्षा भए आईपीएल २०२३ को कसले जित्छ?

आज पनि वर्षा भए आईपीएल २०२३ को कसले जित्छ?

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधिका लागि आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेपर्ने फाइनल खेल भएन।

ठूलो वर्षा हुँदा दुई फाइनल खेल्ने टोली चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सका कप्तान टसका लागि मैदानमा समेत आउन सकेनन्।

वर्षा राति सवा ११ बजेसम्म नरोकिएपछि खेल सोमबार (आज)सम्मका लागि स्थगित भयो। यसैबीच आज पनि वर्षाका कारण खेल नभएमा कसले उपाधि जित्छ भन्ने प्रश्न उब्जिएको छ।

आज पानी परे र दुई टोलीबीचको पाँच ओभरको खेल खेल्न नसके गुजरात टाइटन्सलाई विजेता घोषित गरिनेछ। अंक तालिका सर्वश्रेष्ठ स्थानमा भएकाले उसले उपाधि जित्ने क्रिकइन्फोले जनाएको छ।

नियमले के भन्छ?
सोमबार राति ९ बजेर ३६ मिनेटसम्म पानी परेमा खेलको ओभर कम हुन थाल्छ। यसपछि १२ बजेर ६ मिनेटसम्म कम्तीमा पाँच–पाँच ओभरको खेल हुन नसके सुपर ओभरमा खेल हुनेछ।

तर वर्षा निरन्तर भएर सुपर ओभरसमेत खेल्न सम्भव नभए लिग खेलमा सबैभन्दा बढी अंक बनाउने टोली विजेता घोषित हुनेछ।

गुजरात टाइटन्सले लिगका कुल १४ मध्ये १० खेल जित्दा चेन्नई सुपर किंग्सले १४ मध्ये ८ खेल मात्र जितेको छ। २० अंकसहित गुजरात पहिलो स्थानमा छ भने १७ अंकसहित चेन्नई दोस्रो स्थानमा छ।

भारतको मौसम विभागका अनुसार सोमबार विहान अहमदाबादमा आकाश सफा र घमाइलो छ।

तर, दिन ढल्किँदै जाँदा साँझ ५ देखि ६ बजेसम्म बाक्लो बादल आउने सम्भावना छ। यद्यपि साँझ ७ बजेसम्म मौसम सफा हुने र पानी पर्ने सम्भावना छैन।

जेठ १५, २०८० सोमबार १५:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।