सोलुको खुन्दे र खमजुङ गाउँमा फाइबर इन्टरनेट

सोलुको खुन्दे र खमजुङ गाउँमा फाइबर इन्टरनेट

सोलुखम्बु : नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको संयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ ।

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७०औं वार्षिकोत्सवको अवसरमा दुई गाउँमा फाइबर इन्टरनेट पुर्याइएको हो। आइतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ।

कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्यूजिल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो।

खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ। फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहण गर्न आउने आरोहीले अब उच्च गतिको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ। पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा  घरहरूमा फाइबर इन्टरनेट जडान गरिनेछ।

उच्च गतिको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलिहेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठको विश्वास छ।
 

जेठ १५, २०८० सोमबार १४:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।