सकिए प्रमियर लिगका खेलहरू, लिग उचालेको सिटी अन्तिम खेलमा पराजित

सकिए प्रमियर लिगका खेलहरू, लिग उचालेको सिटी अन्तिम खेलमा पराजित

जारी इंग्लिस प्रिमियर लिगका सबै खेल सकिएका छन्। 

हिजो राति लिगका ३८ औं खेलहरू सकिँदा लिग विजेता म्यानचेस्टर सिटी भने पराजित भयो। ब्रेन्टफोर्डको घरेलु मैदानमा १-० गोलअन्तरले पराजित भयो। 

ब्रेनफोर्डले ८५ मिनेटमा गोल गर्दै सिटीलाई अन्तिम खेलमा सुखद् बिदाइ गर्न दिएन। योसँगै सिटीको हार खेल संख्या ५ पुग्यो। ३७ खेलबाट ८९ अंक बनाएको सिटी त्यसमै सीमित रह्यो भने ब्रेन्टफोर्ड जितपछि पनि ९ औं स्थानबाट माथि उक्लिन सकेन। 

त्यस्तै राति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्याममाथि कमब्याक जित निकाल्न सफल भयो। १९ मिनेटमा गोल खाएर पछि परे पनि युनाइटेडका लागि जोर्डन सान्चोले ३९ र ब्रुनो फर्नाण्डेजले ५५ मिनेटमा गोल गरे। 

अन्तिम खेलमा २-१ को गोल निकालेपछि युनाइटेड तेस्रो स्थानमा रहँदै यस पटक भने आगामी च्याम्पयन्स लिग खेल्ने पक्का गर्यो। 

त्यस्तै राति लिभरपुल भने ४-४ को अनपेक्षित बराबरीमा रोकियो। २-० को अग्रता बनाएको लिभरपुलले साउथह्याम्पटनको मैदानमा जित निकाल्न सकेन। 

१० औं मिनेटमा डिएगो जोटाले टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि रोबर्टो फिर्मिनोले १४ औं मिनेटमा गोल गरेपछि लिभरपुलको अग्रता २-० भएको थियो। 

तर लिभरपुलले २८, ४८ र ६४ औं मिनेटमा लगातार गोल खायो। ३-२ को अवस्था रहेको खेलमा लिभरपुलका लागि कोडी ग्याक्पोले ७२ र जोटाले ७३ औं मिनेटमा गोल गर्दै टोलीको हार टारे। 

बराबरीसँगै लिभरपुल जारी लिगमा पाँचौँ स्थानमा रहँदै आगामी युरोपा लिगका लागि छनोट भयो। 

यता चेल्सी पनि गएराति बराबरीमा रोकियो। पछिल्ला पाँच खेलमा मात्र एक जित निकालेको चेल्सी घरेलु मैदानमै न्युक्यासलसँग रोकिएको हो, त्यो पनि आत्मघाती गोल उपहार पाएर।

बराबरीपछि चेल्सी १२ औं स्थानमा रहेर लिग अन्त्य गर्न बाध्य भयो। चेल्सीले लिगमा जम्मा ११ खेलमा मात्र जित निकाल्न सक्यो भने ११ खेल बराबरी खेल्दा १६ वटामा पराजय भोग्यो। 

यता अर्को बलियो टोली आर्सनलले भने लिगको अन्तिम खेलमा वुल्भ्समाथि ५-० को शानदार जित निकाल्न सफल भयो। दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको आर्सनल सिटिभन्दा ५ अंकले पछि पर्यो। 

 

जेठ १५, २०८० सोमबार १०:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।