‘मलाई भाला रोपेर कसैले मार्यो भने माफी हुने त रहेछ जान्नँ’ भन्ने जवाफ आए कमाण्डरले के भन्लान् ?
जब-जब सरकार टीकापुर घटनाका दोषी ठहरिएका रेशम चौधरीलगायतलाई माफी दिने तयारी गर्थ्यो, नेपाल प्रहरी अनि सशस्त्र प्रहरीको नेतृत्व अनुनय गर्न पुगिहाल्थे।
उनीहरूको तर्क हुन्थ्यो, ‘त्यो अनायशै भएको घटना हैन। योजनाबद्ध रूपमा सुरक्षाकर्मी मार्ने योजनाकारलाई पनि दण्ड नदिए भोलि तल्लो तहका सुरक्षाकर्मीले आदेश नमान्न सक्छन्।’
राज्य संयन्त्रबाट भएको अनुसन्धानमा कारण राजनीतिक देखिए पनि योजना आपराधिक थियो भन्नेमा कुनै सन्देह थिएन लाल आयोगबाहेक। लाल आयोगले टीकापुर घटनालाई राजनीतिक दृष्टिले व्याख्या गरेको थियो। प्रतिवेदन पारित गर्न बहुमतको प्रयोग गर्नुपरेको थियो।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा रेशमसहित निर्दोष देखिने तर उता अदालती परीक्षणमा दोषी देखिएकाले सरकार संकटमा पर्यो। उता सुरक्षा संगठनको ध्यानाकर्षण जारी थियो अनि प्रतिवेदन सार्वजनिक गरेन।
प्रहरी मात्रै हैन, त्योभन्दा अगाडि राष्ट्रिय अनुसन्धान विभागको पूर्वप्रमुखकै नेतृत्वमा छानबिन भएको थियो, टीकापुर घटना। जहाँ प्रदर्शनको आवरणमा सुरक्षाकर्मीमाथि घातक आक्रमण गर्ने तयारी गरिएको थियो। योजनाकार रेशमसहित रहेको र सुरक्षाकर्मीबाट सुरक्षा तयारीमा चुक भएको उल्लेख थियो।
टीकापुरमा रेशम चौधरीको भूमिका प्रदर्शनको योजनाकार मात्रै हैन, सशस्त्र प्रहरी अनि प्रहरीको सूचना स्रोत पनि थिए। छानबिनमा यता हिंसात्मक तयारी गराएर उता सुरक्षाकर्मीलाई सामान्य तयारी भइरहेको गलत सूचना दिएको देखियो।
त्यसको नतिजा प्रहरी प्रदर्शनस्थलमा बलियो सुरक्षा तयारीविना नै गए। प्रदर्शनकारीसँग नेगोसियसन गर्दा अपनाउनुपर्ने सुरक्षा विधि नअपनाई नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने छलफल गर्न भीडमै जाँदा त्यही मौकामा हिंसात्मक तयारी गरिरहेकाहरूले रणनीति कार्यान्वयन गरे।
त्यो बेला सशस्त्र प्रहरी अनि नेपाल प्रहरीको नेतृत्वबीच समन्वय थिएन। एकले अर्कालाई असहयोगै गरिरहेका थिए। त्यो टीकापुरमा पनि देखियो।
प्रहरी भीड नियन्त्रणमा बलियो बल प्रयोग गर्ने तयारी साथ गएका थिएनन्। हतियार बोकेका सशस्त्रले हतियार चलाउने अनुमति पाएनन्। छानबिनमा सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तले सांगठित दुश्मनी फिल्डमा निकालेको भन्दै कारबाहीको तयारी गरिएको थियो। तर, उनी रोक्न सफल भए।
जसरी सुरक्षाकर्मीमाथि आक्रमण भयो, जसरी उनीहरू मारिए त्यो कुनै रूपमा पनि आवेगमा अकस्मात् हुने प्रकृतिको घटना देखिएन। प्रदर्शनमा संलग्न सबै योजनाबारे जानकार नहुन सक्छन्। तर, प्रदर्शनलाई उग्र बनाएर राजनीतिक लाभ लिने रणनीतिमा संलग्नहरूको तयारी हिंसात्मक थियो, कार्यान्वयनमा सफल भए।
घटनास्थलमा योजनाकार हुनु र नहुनको आधारमा कुन अपराधमा को कति दोषी भन्ने हुन्न। रेशम घटनास्थलमै नभएको दाबी गर्दै उनलाई निर्दोष करार गर्न भरमग्दुर प्रयास भइरह्यो। राजनीतिक स्वार्थ अनुसार टीकापुर घटनालाई आफूअनुकूल बनाउने खेल खेलिनै रहे सबै दलले। यसमा मधेसवादी दल किन पछि हट्थ्यो र !
त्यो अन्तमा पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्व सफल भयो। सर्वोच्च अदालतबाट तल्लो तहको अदालतको फैसला सदर गरेको फैसलाको पूर्णपाठसमेत कुर्ने धैर्यता राखेन।
टीकापुर घटना राज्यले थारू समुदायविरुद्ध रचेको षडयन्त्र देखिएको छैन अहिलेसम्म। कारण राज्य रक्तपातको तयारीमा थियो भने दृश्य फरक हुने थियो त्यही दिन। सुरक्षाकर्मीको शवको चाङ लाग्दा प्रदर्शनकारीतर्फ शून्य मानवीय क्षति सम्भव थिएन।
तर हिंसात्मक घटनापछिको अवस्थामा राज्यका निकायहरूले त्रुटि गरेकै हुन्। सुरक्षाकर्मी उत्तेजित भएकै हुन्। प्रदर्शनमा सहभागी नै नभएका वा भएर पनि हिंसात्मक घटनामा संलग्न नभएकाहरूमाथि आक्रमण भयो, उनीहरूका घर जलाइए।
घटनापछिको सुरक्षा राज्यको दायित्व थियो। त्यो दायित्वमा राज्य चुक्यो। राज्य नै बदलामा उत्रियो। आगो लगाउनेहरूले छुट पाए। राज्यहीन भयो टीकापुर केही दिन।
राज्य जहाँ चुक्यो त्यसलाई मज्जाले राजनीतिक रङ दिन हिंसाका योजनाकार सफल भए। त्यसले हिंसात्मक घटनालाई कानूनी दायरामा ल्याएर अदालती प्रक्रियाबाट भएका फैसलालाई थारू समुदायविरुद्ध राज्यको व्यवहारको रूपमा फैलाउन सफल भए।
त्यसैका आधारमा रेशम चौधरी अनि लक्ष्मण थारूले राम्रै राजनीतिक उपयोग गरे। जघन्य अपराधअनुसारको सजायबाट जोगिन राजनीतिक शक्तिबाहेक दोस्रो विकल्प थिएन। त्यो २०७९ मंसिर ४ निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीमार्फत सफल भयो।
हिजो माफीको विपक्षमा रहेका दलका नेताहरू समेत प्रदेशदेखि केन्द्रसम्मको सरकारको स्वार्थमा माफीमा सहमत भए। राष्ट्रपतिबाट माफीको निर्णय भइसकेको छ। रेशम अवीर-मालासहित सोमबारै रिहा भए।
तर, आफ्नो संगठनका सदस्यलाई त्यति निर्मम रूपमा हत्या गर्नेहरूलाई छुटाउने तयारी हुँदा किन रोक्न सकेनौँ भनेर ती पीडित परिवारका सदस्यले सोध्दा दुवै प्रहरी संगठनका प्रमुखले के जवाफ देलान् !
भीड नियन्त्रणमा जान आदेश दिँदा ‘मलाई भाला रोपेर कसैले मार्यो भने माफी हुने त हो जान्नँ’ भन्ने जवाफ आए कमाण्डरले के भन्लान् ?
जेठ १५, २०८० सोमबार ०९:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।