गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामनाः बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन

गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामनाः बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन्। 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिका लागि शुभकामना गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। 

उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्। 

सन्देशमा भनिएको छ, ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ। कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो।’

शुभकामनामा भनिएको छ- ‘जनताको हातमा अधिकार पुगेको छ। देश ग्रामीण विकासको बाटोमा अग्रसर छ। वडा तहदेखिकै हजारौँ जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित भइरहेको छ। समावेशी व्यवस्था कायम भएको छ। केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन’, शुभकामना सन्देशमा भनिएको छ।

जेठ १५, २०८० सोमबार ०८:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।