उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे

उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे

महेश्वरी बिष्ट रावलले हालै नेपाल सरकारको उपसचिवबाट अवकाश पाइन्। ललितपुर महानगरबाट महिला विकास अधिकृतको रुपमा काम गर्दै आएकी उनले लामो समय डडेल्धुरामा बसेर सेवा गरिन्।

अवकाश पाए पनि विभिन्न संस्थाहरूमा रहेर महिलाको विकास सम्बन्धी कार्यहरूमा त्यत्तिकै सक्रिय छिन् उनी। त्रिभुवन विश्वविद्यालयमा योग पढ्नको लागि भर्ना गरेको पनि धेरै भएको छैन। हेटौडामा जन्मिएकी उनको घर भने बैतडी हो।

ललितपुर महानगरमा बस्दै आएकी महेश्वरी संस्थापक भएर सञ्चालन गरेको ‘महिलाको लागि महिला’ अभियान अहिले विस्तारै उपत्यकामा फैलँदै गएको छ। महिलाहरू दङ्ग परेर साइकल चलाइरहेको देख्दा उनी आफैँ दङ्ग पर्छिन्। उनै महेश्वरीले आफ्नो प्रसव पीडा र खुसी यसरी साटिन्।

०००
स्कुल पढ्दादेखिनै विवाह गर्दिन भन्ने समाजका लागि केही गर्छु भन्ने थियो। बिहे र बच्चामा खासै चासो थिएन। चार जना दाजुभाइको एउटा बहिनी भएकाले पनि आमालाई मेरो चिन्ता बढि रहेछ।

बिहे भएको डेढ महिनामै महिनावारी रोकिइसकेको थियो। बच्चा पनि थाहै नपाइ बसिसकेछ। प्रेगनेन्ट भएको थाहा पाउँदा आफैँ जिल्ल परेँ।

‘हामी मरेपछि छोरीको के हुन्छ, दाइहरूको बिहे भएपछि यसको के हुन्छ?’ भन्ने चिन्ताले आमालाई धेरै सताउँदो रैछ। पछि बिहेको लागि चारतिरबाट दवाव आउन थाल्यो। जतिबेला जो भेटे पनि बिहेकै मात्र कुरा हुन थाल्यो।

त्यस्तो हुँदा–हुँदा दिमागमा बिहे गर्नुपर्छ भन्ने भाव आउन थाल्यो। २४ वर्षको हुँदा काम गर्ने शर्तमा मैले मागी विवाह गरेँ। काम गर्न दिन्छु भनेपछि मान्छे ठिक रहेछ भन्ने भयो।

बिहे भएको डेढ महिनामै महिनावारी रोकिइसकेको थियो। बच्चा पनि थाहै नपाइ बसिसकेछ। प्रेगनेन्ट भएको थाहा पाउँदा आफैँ जिल्ल परेँ। त्यै पनि सुरुमा त मतलबनै गरिनँ। परीक्षा आइरहेको थियो, त्यसैको तयारीमा व्यस्त थिए। त्यो बेला प्रेगनेन्ट भए भन्ने त सोचेको पनि थिएन। 

परीक्षा दिन काठमाडौं आएँ। परीक्षा सकेपछि डाक्टरकोमा गएँ र महिनावारी नभएको बारे डाक्टर जाकारी गराएँ। जाँचेपछि डाक्टर हाँस्दै भन्नुभयो, ‘ल नानी अब त आमा बन्ने भयौं।’

सुरुमा त जे देखे पनि गन्हाउने, किचेनमा त पस्ने नसकिने भएको थियो। तर, जबरजस्ती स्वस्थ खानेकुराहरू छानी छानी खान थालेँ।

मलाई त यस्तो झट्का लाग्यो कि। केटाकेटी नै छु, अझै पढ्नुपर्ने छ, के-के गर्नुपर्ने छ भन्ने थियो। त्यसको लागि म तयार नै थिइन। पछि श्रीमान्लाई पनि बुझ्नुपर्दैन भनेर कराएँ। उहाँले नि तिमीले पनि विचार गर्नुपर्ने भन्नुभयो।

म फेरि भयङ्कर लजालु थिएँ। त्यो कुरा माइतीमा पनि भन्न सकिनँ। बिहे गरेपछि महिलाको जीवन खत्तम। बच्चा पाए पछि झनै खत्तम भन्ने लाग्थ्यो। यस्तो अप्ठ्यारो लाग्यो कि मलाई कसैलाई पनि भनिन।

पछि आफन्त र साथीहरूले नै तिम्रो शरीरमा परिवर्तन आयो भनेर चासो दिन थाल्नुभयो अनि आफैँ थाहा पाउनुभयो। बिहे गर्नै नमानेको मान्छे आमा बन्न लागको कुरा स्वीकार्न केही समय लाग्यो।

तर पछि आफू र बच्चालाई स्वस्थ राख्नुपर्छ भन्ने सोच आयो। बच्चा पेटमा आएपछि बच्चाको लागि पनि मैले खानुपर्छ भन्ने भयो। म दाल खाँदै खादैन थिएँ। पछि त मागी–मागी खान थालेँ।

सुरुमा त जे देखे पनि गन्हाउने, किचेनमा त पस्ने नसकिने भएको थियो। तर, जबरजस्ती स्वस्थ खानेकुराहरू छानी छानी खान थालेँ।

हाइट सानो भएको ४५ केजीको मान्छे पछि त ६५ केजीसम्म भएँ। पेट पनि यति ठूलो कि बसेर खान नसक्ने, भुइँमा बस्न पनि धेरै सकस। हिँड्दाखेरि पनि आफैँलाई हाँस हिँडेको जस्तै देखियो होला भन्ने लाग्थ्यो।

सुत्दा पनि त्यस्तै गाह्रो प्रेगनेन्सीको बेलामा देब्रे खुट्टा दुखेर चलाउनै नसक्ने भयो। बच्चा नसामाथि च्यापिएर बसेको छ भन्नुहुन्थ्यो डाक्टरले। अनि चौबिसै घण्टा खुट्टा उल्कै हुन्थ्यो।

डेढ महिनाबाट बच्चा नजन्मिदासम्म गर्भपतन भयो कि भन्ने डरले सताउने रैछ। धेरै समय त ल अब चाहिँ खेर गयो भन्ने सम्म भएर मानसिक रुपमा पनि मलाई धेरै तनाव भयो।

बच्चा चल्यो भनेर डाक्टरले सोधिराख्थे। मैले त्यो महसुस नै गरिनँ। धेरै भएपछि आफैँले ध्यान दिन थाल्दा होकी होकी जस्तो भयो। बच्चा उल्टो बसेको हुनाले अप्रेसन गर्नैपर्छ भन्ने थियो।

अनि अलि–अलि दुखाइ हुने बित्तिकै अप्रेसन गरेर बच्चा निकाल्यो। एघार दिनसम्म हस्पिटलमा बसेँ। डेलिभरी भएपछि भयङ्कर रिलिफ भयो। खुट्टाको दुखाइ पनि सबै हट्यो। अनि अटसमटस भएको जिउ त बच्चा निस्के पछि कस्तो सजिलो भयो।

पहिलाको अप्रेसन भए पनि दोस्रो चाहिँ नर्मल डेलिभरी नै भयो। त्यो बेला थाहा भयो साँच्चैको प्रसव पीडा। त्यो बेला त यति गाह्रो भयो कि अहिले पनि प्रेगनेन्ट मान्छे देख्यो भने माया लाग्छ।

टाका काटेपछि चाहिँ गाह्रो भएर फुट्यो नै। तीन दिनपछि मात्र बच्चा दिएको थियो। तीन दिनसम्म दुध नखुवाउँदा त दुध पनि नआउने रहेछ। अनि बच्चाले पनि खान जानेन। बच्चा समात्न पनि कस्तो अफ्ट्यारो भयो। दिसा पिसाब देखेपछि घिन लाग्थ्यो। सुरू–सुरूमा त श्रीमान् र आमाले नै सबै गर्नुहुन्थ्यो।

०००
पहिलो बच्चा भएको पौने चार वर्षमा दोस्रो बच्चा भएको। दोश्रो प्रेग्नेन्सी हुँदा त म डडेल्धुरामा काम गरेको पनि डेढ वर्ष जति भइसकेको थियो। दोस्रो बच्चा चाहिँ योजना बनाएरै जन्माएको हो। 

मेरो चारजना दाजुभाइ भए पनि कतिपय समयमा एक्लै महसुस गरेको थिएँ। अनि मैले मेरो बच्चालाई पनि एउटा साथी होस् भन्ने सोचेँ। दोश्रो बच्चा त पहिलो बच्चाकै लागि भनेरै पनि आवश्यक लागेको हो।

उसको समयमा चै त्यति सारो खुट्टा नदुखे पनि गर्भपतन होला जस्तो चाहिँ भइनैरह्यो। तर, डाक्टरसँग कुरा गरेर श्रीमान्ले त्यसबेला भ्रुण नजाने इन्जेक्सनको व्यवस्था मिलाउनु भएको थियो।

तौल पहिलाको जस्तो नभए पनि पेट त ठूलै थियो। उकालो ओरालो गर्दा अगाडीको बाटोनै देख्दिन थिएँ। एकचोटी झन्डै लडेको। त्यै पनि हत्तनपत्त जुरुक्क उठेर हिडिहालेँ।

पहिलाकोमा मैले अनुभव गर्न सकिनँ तर, दोस्रो पटक गर्भवती हुँदा बच्चाले किक हानेको राम्रैसँग फिल भयो। मैले धेरैपटक मिटिङ नै छाडेर पनि भागेको छु। प्रमुख भएको कारण बैठकको बिचमा बस्नुपर्थ्यो।

पिसाब लाग्यो भने गइहाल्नुहुन्छ भनेर एक दिन बीचमा नबसेर छेउमा बसेको थिएँ। बोल्दा बोल्दै बच्चाले यस्तो किक हान्यो कि म त सबैले देख्यो भन्ने भएर जुरुक्क उठेर हिँडे। त्यसपछि यस्तो लाज लाग्यो कि पछि त्यहाँ फर्केर गइन।

३६/३८ घण्टा व्यथा लाग्दा त संसारमा छोरी जन्मिँदै नजन्मियोस् भन्ने लाग्यो। पछि स्लाइनको बोत्तल नै बोकेर अस्पतालमा कराउँदै हिँडे।

पछि बच्चा नै सानो पाएँ। त्यसको लागि घर र श्रीमान्बाट अलि–अलि गाली पनि खाएँ। पहिलो बच्चा त भलाद्मी, शान्त। दोश्रो त यस्तो चल्ने। निदाएको बेलामा पनि यो शान्त कसरी भयो होला भन्ने सोचेर बस्थेँ।

पहिलाको अप्रेसन भए पनि दोस्रो चाहिँ नर्मल डेलिभरी नै भयो। त्यो बेला थाहा भयो साँच्चैको प्रसव पीडा। त्यो बेला त यति गाह्रो भयो कि अहिले पनि प्रेगनेन्ट मान्छे देख्यो भने माया लाग्छ। पहिला अप्रेसन भएर त्यो पीडा महसुस नै गरेको थिइन मैले। डेलिभरीको लागि भनेर एक महिना अगाडि नै काठमाडौं आइसकेको थिएँ।

तीन दिन व्यथा लागेपछि बल्ल बच्चा जन्मिएको। बच्चा छिनमा बाहिर आउने छिनमा भित्र जाने भइरहेको थियो। त्यो समयमा उल्कै दुख्थ्यो। मलाई त यति गार्हो भयो कि के कुरा गर्नू र।

एक महिना अगाडी नै दुखाइ सुरु भए पनि डाक्टरले अहिले हुँदैन भनिरहनु भएको थियो। टिचिङ हस्पिटलमा जन्माएको दोस्रो बच्चा चाहिँ। त्यहाँको एउटा सिनियर डाक्टरले अहिले हुँदैन म भोलि आएर हेर्छु भनेर जानुभयो।

नर्सहरू डाक्टरले भनेपछि सुन्दै नसुन्ने। मलाई यस्तो गाह्रो भयो कि मैले त बरु मलाई अप्रेशन गरिदिनु न पनि भनेँ। स्लाइन दिएर फलामको बेडमा राखेको थियो। मैले त्यो बेडको डन्डी यति बेस्कन बटारेँ कि गलेर सब हातहरू दुख्न थालेका थिए। भएभरको बलनै सकियो।

३६/३८ घण्टा व्यथा लाग्दा त संसारमा छोरी जन्मिँदै नजन्मियोस् भन्ने लाग्यो। पछि स्लाइनको बोत्तल नै बोकेर अस्पतालमा कराउँदै हिँडे। केहि भेट्टायो भने हान्न हुन्थ्यो भन्ने सम्म भयो।

घरको मान्छेलाई भित्र छिर्न दिनु भएको थिएन। उहाँहरू सँगै हुनुभएको भए मैले जिद्दी गर्थे होला। म त्यति छटपटाहटमा  थिएँ। बाहिर सबै जना परिवारको सदस्य त्यो दुखाइको अन्दाज पनि गर्न सक्नुहुन्न। खासमा परिवारले पनि त्यो थाहा पाउनु पर्ने हो के।

अहिले पनि त्यो कुराहरू गर्दा मलाई दुखाइ महसुस हुन्छ। पछि डाक्टर आएर बल लगाउनु भन्दै हुनुहुन्थ्यो। बल कताबाट आउनु। बच्चा जन्मिएपछि त मेरो शरीर बाट काँडा निकालेको जस्तै भयो। एकछिन त बेहोस नै भएको जस्तो भयो।

छोरीको पनि एकदम चाहना भएको थियो। बेला–बेला सपनामा छोरी पाएको समेत देख्थेँ। तर, त्यो दुखाइ सम्झेर मलाई पाउने आँटै आएन।

बच्चा अलि दुब्लो भएछ। तर, उसले दूध राम्रोसँग खायो। उसले दूध चुसेको अहिले पनि मलाई याद छ। उसलाई छोडेर म काममा जान्थेँ अनि दूध नखुवाएपछि ब्रेस्ट टाइट भएर आउथ्यो।

​​​​​​​बच्चा सम्झियो भने दूध बग्नेरहेछ। धेरै समयसम्म दूध खान नपाएपछि बच्चाले मज्जाले दूध खाएको आवाज आउँदा यति आनन्द हुने रहेछ।

छोराहरू हुर्कँदै गर्दा र अहिले सम्झँदा एकदमै रमाइलो पनि लाग्छ। त्यति दुःख भए पनि मलाई दुःख भयो भन्ने चाहिँ भएन। किनभने त्यो मैले आफैँले छानेको दुःख थियो। अहिले बच्चाहरूलाई समय दिन नपाएको कुरा भनिरहेको हुन्छ। तर अहिले त उनीहरूसँग नै समय हुँदैन।

जेठो छोरो अहिले अमेरिकामा पीएचडी गर्दैछ। कान्छो कम्प्युटर इञ्जिनियरिङ्ग पढेको हो, यतै छ। अहिले त उनीहरू हाम्रो अविभावक हो। छोरीको पनि एकदम चाहना भएको थियो। बेला–बेला सपनामा छोरी पाएको समेत देख्थेँ। तर, त्यो दुखाइ सम्झेर मलाई पाउने आँटै आएन।

जेठ १४, २०८० आइतबार २२:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।