पार्क बनाउँदा उपभोक्ता समिति र प्राविधिक मिलेर पाँच लाख रूपैयाँ झ्वाम, छ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिका-१ मा नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै उपभोक्ता समितिका अध्यक्षसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कम काम गरे पनि प्राविधिकसँग मिलेर कार्य सम्पादन मूल्याङ्कन पूरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरूले सरकारकी सरकारी रकमको दुरूपयोग गरेको आरोपमा नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा, कोषाध्यक्ष दिलधरा दमाई, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय र सव-इन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको हो।
उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कननसहितको नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई ५ लाख ४५ हजार ४१९ रुपैयाँ २४ पैसा उपभोक्ता समितिलाई भुक्तानी भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
हरिश्चन्द्र, जनक र प्रेमबाट बिगो ५ लाख ४५ हजार ४१९ रुपैयाँ २४ पैसा बिगो बमोजिम जरिबाना गरी बिगो असुल उपर गर्न र कैद सजायको पनि माग गरिएको छ।
यस्तै आयोगले नन्दबहादुर, अर्जुन र दिलधराले सम्झौताबमोजिमको कार्य नगरी भएगरेको कार्यभन्दा बढी कार्य गरेको भन्दै बढी मूल्याङ्कहन गराएर ५ लाख ४५ हजार ४१९ रुपैयाँ २४ पैसा बढी भुक्तानी लिएकाले उनीहरूलाई बिगो ५ लाख ४५ हजार ४१९ रुपैयाँ २४ पैसा कायम गरी जफत गर्नसमेत माग गरेको छ।
जेठ १४, २०८० आइतबार १८:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।