जसपाले भन्यो- पहिचान पक्षधरमाथिको सरकारी दमन तत्काल बन्द गर्

जसपाले भन्यो- पहिचान पक्षधरमाथिको सरकारी दमन तत्काल बन्द गर्

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले पहिचान पक्षधरहरूमाथि भइरहेको सरकारी दमन तत्काल बन्द गर्न माग गरेको छ।

आइतबार प्रेस विज्ञप्ति निकालेर अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशको नामकारणलाई अस्वीकार गर्दै भइरहेको पहिचान पक्षधरहरूको आन्दोलनमाथि सरकारी दमन तत्काल बन्द गर्न माग गरेका हुन्।

यादवले समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरूसँग वार्ताद्वारा समस्याको हल गर्नसमेत सरकारसँग अनुरोध गरेका छन्।

प्रदेश सभाबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएसँग त्यहाँका पहिचान पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन्। सोही आन्दोलनका क्रममा एक जनाको मृत्युसमेत भइसकेको छ।

पहिचान पक्षधरहरूले कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई सम्बोधन हुने गरी पुनरनामकरण गर्न माग गर्दै आएका छन्।

आइतबार पनि पहिचान पक्षधर र प्रहरीबीच प्रदेशको राजधानीमा झडप भएको थियो। पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो।

जेठ १४, २०८० आइतबार १८:००:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।