विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विराटनगरः कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका पहिचानवादीहरूले उग्र रूप लिए लिएपछि विराटनगरमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

प्रदेशसभा भवन अगाडि आन्दोलन थालेलगत्तै प्रदर्शनकारीहरू पक्राउ पर्न थालेका थिए। विराटनगरको देवकोटा चोकमा प्रदर्शनकारीले आन्दोलन जारी राखेका छन्।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीसँग दोहोरो झडपसमेत भएको छ। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। अनि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको हो।

आइतबार प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्न थालेका करिब दुई दर्जन पहिचानका पक्षधर प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ पनि गरेको थियो।

उनीहरूले निषेधित क्षेत्रभित्र प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष जिवन हताजु राईलाई पनि पक्राउ गरेको बताइएको छ।

प्रदेशसभाले गत फागुन १७ गते  प्रदेशको नाम कोशी राखेपछि आज पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको छ।कोशी प्रदेश सभाको दोस्रो बैठक तथा बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ।

यसैलाई लक्षित गरेर कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने मागसहित उनीहरूले आन्दोलन घोषणा गरेका थिए।

जेठ १४, २०८० आइतबार १४:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।