जाजरकोटमा विनालाइसेन्स सवारी चलाउनेमाथि कडा निगरानी

जाजरकोटमा विनालाइसेन्स सवारी चलाउनेमाथि कडा निगरानी
फाइल तस्बिर

जाजरकोटः भेरी करिडोर तथा अन्य सडकमा इजाजतविना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ। 

रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्र रुपमा सेवा दिन थालिएको हो।

भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनमा निगरानी गर्न थालिएको छ।

ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको कार्यालय प्रमुख आनन्द चपाइँले बताताए

कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सञ्चालन हुन लागेको उनको भनाइ थियो। कार्यालय प्रमुख चपाइँका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलङ्गाबाट तल्लुसम्म ६५ किलोमिटरमा चल्ने सवारीसाधनमा चालकले  अनुमति नलिइ चलाएको अवस्था छ।

तल्लुबाट डोल्पासम्म चल्ने सवारीसाधनसमेत अनुमतिविना नै सञ्चालन भएको उनले बताए। सवारीसाधनमा आलोपालो लगाएर यात्रुलाई हैरान बनाएको अवस्था छ।

कार्यालय प्रमुख चपाइँ डोल्पा जाँदा उनकै गाडीलाई समेत निगरानी गरिएको थियो। कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए।

अहिले पछिल्लो समय चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनोमानी रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमख चपाइँले बताए। 

इजाजतपत्र  नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उनको भनाइ थियो। योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसन्स नवीकरणका काम गर्ने गरिएकामा अब चौरजहारीबाटै सबै काम हुने गरेको छ।

भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड लागेको छ।

अब ट्रायल दिने कामसमेत छिटै सञ्चालन हुने बताएको छ।

जेठ १४, २०८० आइतबार १४:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।