मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेः मन्त्री किराती

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेः मन्त्री किराती

काठमाडौँः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे १ मिनेट पनि पदमा नबस्ने बताएका छन्। 

आज विभिन्न सञ्चारमाध्यममा पशुपति विकास कोषको ३१ रोपनी जग्गा अतिक्रमण भएको भनी समाचारहरू प्रकाशित भएपछि मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत खण्डन गर्दै आपत्तिसमेत जनाएका हुन्। 

उनले लेखेका छन्, 'मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ' 

मन्त्री किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गराएका भन्दै आज नागरिक दैनिकले यसबारे समाचार छापेको थियो। 

अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको समाचारमा उल्लेख छ। अध्ययनले अतिक्रमण भएको देखाए पनि जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने निर्णय गराएका समाचारमा जनाइएको छ। 

समाचारमा जनाइएअनुसार मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाविक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका हुन्। 

१४ जेठ, २०८०, १३:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।