भुटानी शरणार्थी काण्ड मात्र होइन, दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ : लिङ्देन

भुटानी शरणार्थी काण्ड मात्र होइन, दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ : लिङ्देन

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड सहित सबै काण्डहरुको छानबिन हुनुपर्ने बताएका छन्।

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सबै काण्डहरुको छानबिन हुनुपर्ने माग राप्रपाको भएको बताएका हुन्।

‘नेपालमा जति पनि काण्डहरू भएका छन्। ती सबैको छानबिन हुनुपर्ने हाम्रो पार्टीको माग छ। या त राजदरबार हत्याकाण्ड होस्, या त नक्कली भुटानी शरणार्थी जस्तै अन्य चर्चित काण्डहरू। यी सबैको छानबिन गर्न आवश्यक छ। त्यसमा हाम्रो पूर्ण समर्थन रहन्छ,’ उनले भने।

उनले अहिले देशमा तमाम भ्रष्टाचारका काण्डहरुको निस्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने राप्रपाको माग रहेको बताए।
यस्तै राष्ट्रिय प्रजातन्त्रका पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा ४८ सिट क्षमताका विमान अवतरण हुने खालको विमानस्थल निर्माण गर्न लागेको बताए।

उनले २०२९ सालपछि पहिलो पटक जुम्ला विमानस्थल विस्तार गर्न लागेको बताए। उनले पर्यटनलाई प्रवर्द्धन गर्न ठूला सिट क्षमताको विमानस्थल जरुरी रहेको र त्यसका लागि प्रक्रिया सुरु गरिएको बताए।

मन्त्रीपरिषद्ले विमानस्थल विस्तारका लागि निर्णय गरिसकेको र बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको शाहीले जानकारी दिए।

जेठ १४, २०८० आइतबार ११:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।