सांसदले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनु विडम्बना : शेखर कोइराला

सांसदले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनु विडम्बना : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, संसद्मा उठेको शंकास्पद अनियमितताको अभिव्यक्तिलाई दलका शीर्ष नेता बसेर संसदको रेकर्डबाट हटाउने सहमति गर्नु विडम्बना भएको बताएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै उनले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरेका हुन्।

‘कस्तो विडम्बना! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने,’ उनले लेखेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र?

‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं। के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं,’ उनले थप लेखेका छन्।

माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर केपी ओली सरकारले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले गत शुक्रबार संसद् अवरुद्ध गरेको थियो।

यसपछि हिजो शनिबार शीर्ष नेताहरुबीच सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएसँगै सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

जेठ १४, २०८० आइतबार १०:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।