टप फाइभ : पल र सन्दीपको मुद्दासँग मेल खाने चलचित्रदेखि पशुपतिको जलहरीका विषयमा प्रधानमन्त्रीको स्पष्टीकरणसम्म

टप फाइभ : पल र सन्दीपको मुद्दासँग मेल खाने चलचित्रदेखि पशुपतिको जलहरीका विषयमा प्रधानमन्त्रीको स्पष्टीकरणसम्म

काठमाडौं : आजको देशको राजनीति प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने विषयमै केन्द्रित रह्यो। हिजो (शुक्रबार) नै संसद बैठकमा दाहालले जवाफ दिने कार्यतालिका थियो।

तर माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा केपी ओली सरकारले सुनको भनेर पित्तलको जलहरी हालेको भनेपछि एमाले सांसदहरुले संसद् अवरुद्ध गरेका थिए। यसपछि संसद नै स्थगित भएको थियो। 

यसपछि आज संसद बैठक सुचारु गर्नका लागि तीन दलका नेताबीच सिंहदरबारमा सहमति भयो। सांसद दाहालले बोलेको विषय संसदको रेकर्डबाट हटाउने सहमतिपछि आजै दिउँसो ४ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिए।

आजका टप फाइभ

असरल्ल तारले कुरुप बुटवल

आजको दिनको सुरुवात उकेराले बुटवलमा दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकको अव्यवस्थित तारले दुर्घटनाको जोखिम बढेको स्टोरीबाट गरेको थियो। हाल बुटवलका चोक-चोकमा तार भुईंमै असरल्ल हुँदा पैदल यात्रुदेखि सवारी चालकसमेत जोखिममा परेका छन्।

विद्युतका पोल नै ढल्नेगरी गुजुल्टो पारिएको तारले बेला–बेलामा आगलागीसमेत हुने गरेको छ। तारको भारकै कारण कतिपय विद्युतका पोलहरू नै बाङ्गिएका छन्।

फिल्म ‘सिर्फ एक बन्दा है’को बाबा पात्रको अनुहारमा नाचेको पल र सन्दीपको छायाँ

उकेरामा आजै अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दासँग मेल खाने भारतीय चलचित्र ‘सिर्फ एक बन्दा काफी है’ को विषयको टिप्पणी प्रकाशित भएको थियो।

जसरी नेपालमा पीडितको जन्म मिति २०६१ असार कि २०६२ असार? भन्नेमा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा अड्किरहेको छ यस्तै, पीडितको जन्म मिति १९९४ कि १९९६? भन्नेमा घुमेको छ ओटीटीमा रिलिज भएको यस फिल्मको कथा।

यो कथा र पात्रहरू भारतको हुन्। तर फिल्म हेरिरहँदा कहिले अभिनेता पल शाह त कहिले सन्दीप लामिछानेको अनुहार देखिन्छ। फिल्म भारतको कथामा बने पनि यो भारतको मात्र कथा हैन। दवाव र प्रभावमा कानुनलाई आफू अनुकूल बनाउन सकिने नेपाल जस्ता देशको कथा पनि हो। त्यसैले त फिल्म हेर्दा उताका पात्रमा यताका अनुहार मिसिन सम्भव भयो।

पूर्वराजालाई सुझाव दिंदै झलनाथले भने : बरु राप्रपाको अध्यक्ष बन्नुस् वा एउटा नयाँ पार्टी खोल्नुस्

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आजै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न वा नयाँ दल खोल्न सुझाव दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको समेत बताए।

संसद्मा स्पष्टीकरण दिंदै प्रचण्डले भने : पशुपतिको जलहरीका विषयमा ओलीलाई जोडेर बोल्नु अनुचित

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको विषयका बारेमा प्रमुख प्रतिपक्षी दलका नेता (केपी ओली)लाई जोडेर विचार व्यक्त हुनु उचित नभएको बताए।

माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सुनको नभएर ओली सरकारले पित्तलको राखेको बताएका थिए। यसपछि एमालेले हिजो संसद अवरुद्ध गरेपछि आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्रीले यो स्पष्टीकरण दिएका हुन्।

प्रचण्डको जवाफः नीति तथा कार्यक्रम मौलिक छन्, एमालेका एजेण्डा पनि समेटिएका छन्

संसद् बैठकमा आजै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरे। सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम अर्थ न बर्थको नरहेको बताएका हुन्।

यसपटक आएको नीति तथा कार्यक्रम परम्परागत नभएको उनले दाबी थियो। एमालेले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी देख्ने भए आफूले ल्याएको जस्तै रहेछ भनेर समर्थन गर्न पनि प्रचण्डले आग्रह गरे। 

जेठ १३, २०८० शनिबार २१:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।