दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्ने तयारी

दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्ने तयारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्ने योजना बनाएको छ।

प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।

उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको छ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना प्राधिकरणले बनाइएको छ।

प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगत रूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने हटाउने योजना नरहेको बताइएको छ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ।

जेठ १३, २०८० शनिबार २०:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।