राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री दाहाल

राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सङ्कट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै उनले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताए।

उनले भने, ‘कहीं न कहीं हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ। देशका अगाडि जे–जस्ता समस्या र चुनौती छन्, ती समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यक छ।’

प्रधानमन्त्री दाहालले देशका अगाडि विद्यमान समस्या, भ्रष्टाचार र बेथिति, विसङ्गति विरुद्धको लडाइँ सबै मिलेर मात्रै जित्न सकिने बताए।

मुलुकमा देखिएका तमाम बेथितिमा सरकारको ध्यान गएको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयलाई पनि सरकारले गम्भीरताका साथ लिएको बताए।

‘राजस्वलगायत अन्य क्षेत्रमा देखिएका बेथितिमाथि सरकारको ध्यान छ, कदम–कदम गरेर ती सबै सच्याउनुपर्छ, त्यसका निम्ति सबै राजनीतिक दल र सदनको सहयोगको आवश्यक छ,’ उनले भने।

तेस्रो कार्यकाललाई आफूले चुनौती र अवसरका रूपमा लिएको जनाउँदै उनले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तन नै धरासायी हुने छटपटीको अन्त्य गर्न आत्मसमीक्षा गर्न जरुरी रहेको बताए।

‘आफैँलाई ‘करेक्सन’ नगरी जनतामा पैदा भएको मनस्थितिलाई बदल्न सकिंदैन, मैले आफूलाई ठूलो अग्नि परीक्षामा रहेको महसुस गरेको छु, सम्पूर्ण रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आफूलाई समर्पित गर्ने सङ्कल्प लिएको छु,’ दाहालले भने।

प्रधामन्त्री दाहालले नीति कार्यक्रमले सरकारका नीतिगत प्राथमिकतालाई दिशाबोध गरेको र अन्य विस्तृत कार्यक्रम बजेटमार्फत सम्बोधन हुने विश्वास दिलाए।

जेठ १३, २०८० शनिबार २०:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।