पूर्वाराजा ज्ञानेन्द्रले वीरेन्द्रनगरबाट भने, 'यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थाल्यो

पूर्वाराजा ज्ञानेन्द्रले वीरेन्द्रनगरबाट भने, 'यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थाल्यो

सुर्खेतः पूर्व राजाज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन्।

शनिबार वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आफू पुग्ने ठाउँहरूमा यस्ता आवाज सुन्ने गरेको बताए। 

‘आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो,’ उनले भने, ‘हामी जहाँ-जहाँ पुग्छौं, त्यहाँ-त्यहाँ नेपालीको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने ? के कस्तो विधि व्यवस्था अँगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोच्न जरुरी छ।’ 

राजनीतिक दलहरूलाई संकेत गर्दै उनले राष्ट्रवाद फस्टाउन राष्ट्रप्रेमको खाँचो हुने भएकोले सबै मिलेर बढ्नुपर्ने बताए।

‘नेपालको पीरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै एक भएर जुटौं। हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढौं,’ अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने। 

वीरेन्द्रनगरको खाका कोर्न पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको ठूलो योगदान भएकाले अभिनन्दन गरिएको मूल तयारी समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए। 

वीरेन्द्रनगर घण्टाघर अगाडि गरिएको कार्यक्रममा पूर्वराजा, रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दनसमेत गरिएको थियो। 

अभिनन्दनका लागि एक हजार आठ सदस्यीय समिति र २० सदस्यीय उपसमिति समेत गठन गरिएको थियो। 

‘राजा आउ, देश बचाऊ’ नारासहित हजारौं संख्यामा मानिसहरू उपस्थित भएका थिए।

जेठ १३, २०८० शनिबार १९:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।