शरणार्थाी प्रकरणमा ओलीलाई विश्वप्रकाशको जवाफः यो काम प्रहरीको हो, यहाँ कोही न्यायाधीश बन्नुपर्दैन

शरणार्थाी प्रकरणमा ओलीलाई विश्वप्रकाशको जवाफः यो काम प्रहरीको हो, यहाँ कोही न्यायाधीश बन्नुपर्दैन

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष र दोषी छानबिन गर्ने काम प्रहरीको भएको नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। 

शनिबार संसद बैठकमा महामन्त्री शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै यस प्रकरणमा प्रहरीले दोषी र निर्दोष छुट्याउने बताए। 

‘केपी शर्मा अोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गर्दैछ। यहाँबाट फैसला सुनाउन हामी न्यायाधीश होइनौं। कि अमुक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ। उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति राखिने कुरामा विमति प्रकट गर्दछु। यो प्रकरणमा कोही आवेगमा आउनु जरुरी छैन,’ उनले भने।  

महामन्त्री शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दा पनि समर्थन गरेर भ्रष्टाचारविरुद्ध अभियानमा सहयोग गर्ने बेला भएको बताए। उनले आफूहरूले भ्रष्टाचार मुछिएका कांग्रेस नेताहरूको पक्षमा कहिल्यै पनि नबोल्ने बताएका छन्। 

शर्माले भने, 'अहिले हामी ठीक ठाउँमा उभिएका छौँ, अब फाइल खोलौँ, फाइल खोल्दै गर्दा अमुक फाइल खोल्यो भने अमुक पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन, आवेगले होइन जिम्मेवार ढंगले।'

शर्माले २००७ सालदेखिका भ्रष्टाचारका फाइल खोल्न सकिने पनि बताएका छन्। 

जेठ १३, २०८० शनिबार १८:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।