लिग उपाधि दौडमा रहेको जावलाखेल एपीएफसँग पराजित
काठमाडौं : एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ।
यो हारपछि लिग उपाधिको दौडमा रहेको जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइजसँगको अंक दुरी कम गर्ने मौका गुमायो।
दशरथ रंगशालामा भएको खेलको २३ औं मिनेटमा विदेशी खेलाडी बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
यसपछि पहिलो हाफको इन्जुरी समयमा आवास लामिछानेले गोल गर्दै एपीएफको २-० को जित पक्का गरे।
एपीएफ यो जितपछि २२ खेलमा २९ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ। हारपछि २२ खेलमा ३४ अंक जोडेर जावलाखेल तेस्रो स्थानमा कायमै छ। लिडर चर्च ब्वाइजको २१ खेलबाट ३८ अंक छ।
जेठ १३, २०८० शनिबार १७:०४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।