रुवी भ्यालीको मौलिक कथामा ‘नीरफूल’
काठमाडौं : रंगपत्रकारबाट लेखक हुँदै चलचित्र निर्देशनमा लागेका फूलमान बलको फिल्म ‘नीरफूल’ २६ जेठबाट प्रदर्शनमा आउँदैछ।
शुक्रबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन र कामको अनुभव साट्यो।
सोही क्रममा अभिनेता दयाहाङ राईले फिल्म ‘नीरफूल’बाट दर्शकले मौलिक स्वाद पाउने बताए। उनले फिल्म निर्माणको समयमा भएका तीतामीठा अनुभवसमेत साटे।
फिल्म खिच्नका लागि गणेश हिमाल मुनिको रुवी भ्यालीमा जाँदा निकै मुस्किलले पुगेको र पहिलो पटक नौलो अनुभव बटुलेको राईले बताए। फिल्मको विषयवस्तु मौलिक भएकाले फिल्ममा आवद्ध भएको उनले सुनाए।
उनले भने, ‘कुनै–कुनै फिल्ममा पैसाभन्दा पनि कथा सुन्नासाथ फिल्ममा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। हामी कलाकारहरू फरक कथावस्तुका भोका पनि हुन्छौँ।’
यही फिल्मबाट डेब्यु गरेकी शान्ति वाइबाले दयाहाङ राईसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्।
फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन लगायतको अभिनय गरेका छन्।
फिल्मको पटकथा सचिन घिमिरे र फूलमान बलले लेखेका हुन् भने छायांकन प्रमोद कार्कीको छ। निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत छ।
डोमा सोनाम कार्यकारी निर्माता रहेको फिल्मलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापाले निर्माण गरेका हुन्।
जेठ १३, २०८० शनिबार १३:३४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।