तीन दलको कुरा मिल्यो, प्रधानमन्त्रीले ४ बजे संसद् बैठकमा सम्बोधन गर्ने

तीन दलको कुरा मिल्यो, प्रधानमन्त्रीले ४ बजे संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं : संसद बैठक सुचारु गर्नका लागि तीन दलका नेताबीच सिंहदरबारमा सहमति भएको छ।

माओवादी केन्द्र, कांग्रेस र एमालेका नेताबीच भएको बैठकबाट माओवादी सांसद लेखनाथ दाहालले गलत गरेको भन्दै प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भएपछि सहमति जुटेको एमालेका सचेतक पदम गिरीले जानकारी दिए।

पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम गर्ने जिम्मा पशुपति क्षेत्र विकास कोषको भएको प्रधानमन्त्रीले बजेट मात्र छुट्याएकाले माओवादी सांसदले बोलेको विषय गलत भएकोबारे सबै नेताहरूबीच साझा धारणा निर्माण भएको उनले बताए।

‘जलहरी निर्माणको काम पशुपति क्षेत्र विकास कोषको हो, सरकार र प्रधानमन्त्रीले बजेट छुट्याइदिने काम मात्र हो। यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै संलग्नता छैन र हुनसक्ने कुरा पनि भएन। संसदमा तत्थ्यहीन र आधारहीन विषय संसदमा गर्नाले जनस्तरमा भ्रम सिर्जना गर्ने भएको भन्दै गलत भएकै हो भनेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने र भविष्यमा यस्ता खालका तथ्यहीन र आधारहीन कुराहरु सदनमा नगर्ने भन्ने कोणबाट छलफल भयो। प्रधानमन्त्रीज्यूले सदनमा आज त्यो विषय राख्नुहुन्छ।’ 

त्यसैगरी सांसद् दाहालले बोलेको विषय संसदको रेकर्डबाट हटाउने सहमति समेत बैठकमा भएको उनले बताए। जलहरीको विषय र कोरोना संक्रमणको बेलमा ओम्नी काण्डको बारेमा २ अर्ब रुपैयाँको भ्रष्टाचार गरेको विषय पनि संसदको रेकर्डबाट हट्ने सहमति भएको छ।

योसँगै प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बोलाइएको प्रतिनिधिसभाको बैठमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन्। शुक्रबार नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम भए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको थियो।

जेठ १३, २०८० शनिबार १०:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।