टप फाइभ : पशुपतिनाथको जलहरी प्रकरणले संसद अवरुद्धदेखि रियालिटी शोको रियल पाटोसम्मको प्रसङ्ग

टप फाइभ : पशुपतिनाथको जलहरी प्रकरणले संसद अवरुद्धदेखि रियालिटी शोको रियल पाटोसम्मको प्रसङ्ग

काठमाडौं : शुक्रबार एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो। माओवादी सांसद् लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा चढाएको भनिएको सुनको जलहरी पित्तलको भएको भन्दै आरोप लगाएपछि एमालेले संसद् अवरुद्ध गर्यो। सभामुखले २० मिनेटको लागि संसद स्थगित गरे पनि दिनभर बैठक बस्नै सकेन। शनिबार दिउँसो ४ बजेका लागि संसद् बैठक बोलाइयो।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिका लागि भनेर राखेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जलहरीमा अनियमितता गरेको आरोप लगाएका सांसद् दाहाललाई जड्याहाको संज्ञा दिएका छन्। उनले जड्याहाले जाँड खाएको बेलामा पनि त्यस्तो कुरा नबोल्ने भन्दै कडा शब्दमा प्रतिवाद गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भए। उनले राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागी भइ मानवअधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। त्यसअघि उनी प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन बैठकस्थल पुगेका थिए।

शुक्रबार नै मन्त्रिपरिषद्को बैठक बस्यो। बैठकले यसअघिको कार्यकालमा संघीय संसद्का दुवै सदनबाट दुईपटक पारित भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्यो। यसले एकपटक पुनः नागरिकता राजनीतिक चासो बढ्ने देखिन्छ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार संसदमा विपक्षी दल अनुदार बन्दै गएको समाचार लेख्यो। समाचारमा गत बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कांग्रेस सांसद् बोल्दा उनको त्यसको प्रतिवाद गरेका र शुक्रबार एमाले अध्यक्ष ओलीविरुद्ध माओवादी सांसद् बोल्दा संसद् नै अवरुद्ध गर्ने गरेको प्रसङ्ग समेटिएको छ।
पूरा समाचारः अनुदार बन्दै प्रतिपक्षी दल, विपक्षमा बोल्नेलाई हतोत्साहित गर्ने रणनीति

यस्तै उकेराले नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजाल र सर्वसाधारणमाथि जिल्ला अदालत बाहिर भएको भनाभनको विषयलाई पनि समाचार बनायो। शरणार्थी नेता रिजाललाई बयान सकेर बाहिर निकालेपछि बाहिर रहेका सर्वसाधारणले मान्छे बेच्ने यो पनि होइन भनेपछि रिजाल ती सर्वसाधारणमाथि जाइलागेका थिए।
पूरा समाचारः ‘हाम्रो देशको बेइज्जत गर्नेरु’ भनेपछि झोक्किए टेकनाथ रिजाल

यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसका दिन दिने आममाफीमा कैलालीको टीकापुर घटना दोषी रेशम चौधरीलाई छुट दिन लागेको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरेका थिए। छलफलपछि चौधरीलाई आम माफी दिने विषयमा तीन शर्तसहित गृह मन्त्रालयमै फिर्ता पठाइदिए।
पूरा समाचारः होला त रेशमलाई माफी ? राष्ट्रपतिका तीन सर्त, पीडितको निवदन पनि गृहमै

उकेराले साँझपख नेपालमा भएका रियालिटी शो का निर्णायकको विषयमा अर्को समाचार छाप्यो। सिकारु र विषय विज्ञ नभएका व्यक्ति नै रियालिटी शोका निर्णायक बसेर उत्कृष्ट भन्दै छानिरहेका छन्। केही साताअघि सम्पन्न पोयट आइडल र अहिले चलिरहेको मेरो डान्स युनिभर्स लगायत अन्य रियालिटी शो विषयमा पनि समाचारमा उल्लेख गरिएको छ।
पूरा समाचारः रियालिटी शोको रियल पाटो : सिकारू कवि ‘पोयट आइडल’को जज, कम्मर नमर्किने कलाकारले छान्छन् ‘डान्सिङ स्टार’

यस्तै राति उकेराले शुक्रबार काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा पनि बढि रहेको समाचार छाप्यो। शुक्रबार दिउँसो काठमाडौं र मधेश प्रदेशको राजधानी जनकपुरको तापक्रम एउटै विन्दुमा पुगेको थियो।
पूरा समाचारः काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा पनि बढि

१२ जेठ, २०८०, २२:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।