लेखनाथको आरोपमा ओली प्रतिवाद- ‘संसद् अवरुद्ध हुनैपर्छ, जड्याहाले पनि यस्तो कुरा बोल्दैन’

लेखनाथको आरोपमा ओली प्रतिवाद- ‘संसद् अवरुद्ध हुनैपर्छ, जड्याहाले पनि यस्तो कुरा बोल्दैन’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाउने सांसद्लाई कडा शब्दमा प्रतिवाद गरेका छन्।

पार्टीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण कार्यक्रममा ओलीले जड्याहाले जाँड खाएर पनि त्यस्तो नबोल्ने भन्दै प्रतिवाद गरेका हुन्। उनले संसद अवरुद्ध हुनैपर्ने टिप्पणी गरेका छन्।

उनले भने, ‘आज संसद अवरुद्ध छ। हुनैपर्छ संसद् अवरुद्ध, यस्तो बकवास, जड्याहाले जाँड खाएर पनि त्यस्तो कुरा बोल्दैन। संसदजस्तो गरिमामय ठाउँमा यस्तो बकवास।’

उनले अगाडि भने, ‘मैले त रकम दिने हो, मैले पशुपति ट्वाक–ट्वाक पार्न जाने अब म। सेना र प्रहरी बसेर बनाइएको हो त्यो।’

जेठ १० गते माओवादी सांसद् लेखनाथ दाहाल (राजन)ले केपी शर्मा ओलीले कोरोना संक्रमणको बेलामा २ अर्बभन्दा बढिको भ्रष्टाचार गरेको र पशुपतिको जलहरी राख्ने क्रममा सुनको जलहरी भनेर पित्तलको राखेर रकम हिनामिना गरेको आरोप लगाएका थिए।

साथै ओलीले भुटानी शरणार्थी प्रकरणमा एमालेतर्फ सोझ्याउन खोजिएको भन्दै मिडिया र सामाजिक सञ्जालबाट हौवा फैलाइएको समेत बताए। एमालेलाई बदनाम गर्न खोजिएको उनको तर्क छ।

आफू भ्रष्टाचारविरुद्ध अभियान चलाएर आएको भन्दै बिनासित्ती एमालेका मान्छेलाई आरोपित गरिएको दाबी गरे।

उनले भने, ‘जीन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको मान्छे म। हाम्राविरुद्ध जे बोले पनि हुने, जे प्रचार गरे पनि हुने? बिनसित्ती ढङ्गले हाम्रा मान्छेलाई आरोपित गर्ने। भुटानी शरणार्थी प्रकरणमा ९ करोड बुझाएका मान्छेलाई सरकारले गवाह राख्छ। कसरी विश्वास गर्ने?’

जेठ १२, २०८० शुक्रबार १६:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।