सुनको जलहरीबारे महालेखाको प्रतिवेदन भन्छ- ‘खर्चको यथार्थ अवस्था यकिन हुन सकेन’
काठमाडौं : शुक्रबार प्रतिनिधि सभा बैठकमा पशुपतिनाथमा सुनको जलहरी लगाएको विषयले प्रवेश पायो।
माओवादी सांसद् लेखनाथ दाहाल (राजन)ले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीकालमा उठेका यति-ओम्नी प्रकरण, नेपाल एयरलाइन्सको वाइडबडी खरिद घटना, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचारको विषय उठाए।
उनी यतिमा मात्र रोकिएनन्। उनले पशुपतिमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएकाे भन्दै ओलीमाथि गम्भीर आरोप लगाए।
उनले भने, ‘त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्।’
तर, एमालेका सांसदहरूले उनको भनाइको प्रतिवाद गर्दै संसदको वेल घेराउ गरे। संसद चल्न दिएनन्। सांसद दाहालको भनाई संसदको रेकर्डबाट हटाउन माग गरे।
आखिर के हो त पशुपतिको जलहरीको विषय?
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८० करोडमा एक सय तीन किलो बढि सुन किनेर जलहरी बनाएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाएको थियो।
जलहरी बनाएर बाँकी रहेको १० किलो सुन रिङ बनाउन प्रयोग भएकोबारे महालेखाले प्रश्न उठाएको थियो। जलहरी बनाउँदाको ज्याला दाताले ब्यहोर्ने सहमति भएको देखिए पनि कति खर्च भयो भन्ने नखुलेको र दाताको सहयोग लेखाङकन पनि नगरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनको अंश
सुनको जलहरी निर्माण पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी- निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको छ।
विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।
निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।
लहरी निर्माणको ज्याला खर्च- पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन (दोस्रो संशोधन २०६२) नियमावली, २०४५ नियम ३.४.१.१ अनुसार दाताहरूबाट प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। सञ्चालक परिषद्को २०७७।१०।१४ को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दातामार्फत् सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको देखिन्छ । सुनको खरिद कार्य रू.८० करोड ११ हजारमा भएको देखिन्छ। सो जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन। पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत् उक्त निर्माण कार्य गराएकोमा मिल्स सँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन। सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत् ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाड्डून नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ। नियमावलीअनुसार प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ।
जेठ १२, २०८० शुक्रबार १५:०४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।