नागढुंगा सुरुङमार्गको अनुगमन गर्न पुगे यातायातमन्त्री ज्वाला र विश्व बैंकका अधिकारी

नागढुंगा सुरुङमार्गको अनुगमन गर्न पुगे यातायातमन्त्री ज्वाला र विश्व बैंकका अधिकारी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ।

टोलीले आजै नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ।

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए।

सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ। आउँदो दशैंसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ।

आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्टेन्ट तर्फका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिए।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ २.६८ किलोमिटर छ। जहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारी लगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको थियो। 

१२ जेठ, २०८०, १२:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।