सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन, भ्रामक समाचार बनाउनेलाई मुद्दा हाल्छु : ढाकाकुमार

सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन, भ्रामक समाचार बनाउनेलाई मुद्दा हाल्छु : ढाकाकुमार

काठमाडौं : निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई कुनै पैसा नबुझाएको बताएका छन्।

आज (बिहीबार) एक विज्ञप्ति मार्फत उनले यस विषयमा पार्टीलाई आफूले तीन करोड बुझाएको भनेर केही मिडियाले आधारहीन समाचार प्रकाशन गरेको बताए।

साथै उनले आधारबिना यस्ता भ्रामक र तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने विरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘२०८० र ०२ र १० गते केही अनलाइन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु।’

‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैं कानुनी प्रक्रियामा जान बाध्य हुनेछु ,’ उनले थपेका छन्।

१२ जेठ, २०८०, ११:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।